काठमाडौं । भगवान रामको जन्म नेपालमा भएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले संसदीय समितिमा पनि प्रवेश पाएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सो विषयले प्रवेश पाएको हो ।
सांसदहरुले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गरेका छन् । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले अयोध्या र ठोरीका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई व्यक्तिगत रुपमा लिन नहुने बताए । उनले ठोरीको अनुसन्धानका लागि के व्यवस्था भएको छ ? अहिले कतिको अनुसन्धान भइरहेको छ भन्दै प्रश्न समेत गरे । प्रधानमन्त्री ओलीले के आधारमा भन्नुभएको हो ? अहिले अनुसन्धान कुन चरणमा पुगेको छ त्यसको विषयमा जानकारी दिनुपर्ने उनको भनाइ छ ।
कांग्रेसकै सांसद पुष्पा भुसालले अनुसन्धान र सत्यतथ्य प्रमाणित नभइ प्रधानमन्त्रीले रामराज खोलेपछि अहिले मिडियामा बहस सुरु भएको बताइन् । कार्यकारी प्रमुखले रामको जन्म नेपालमा भयो भनेपछि अहिले मिडियामा बोल्नेहरु नै विशेषज्ञ जस्तो गरी छलफलमा सहभागि भइरहेको उनले बताइन् । यस्ता विषयलाई हल्का छलफलको विषय बनाउन नहुने उल्लेख गर्दै उनले नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन खोज्दा यस्ता विषयवस्तुहरुमाथि सरकार प्रमुखले धारणा राख्नु हुँदैन भन्ने आफ्नो मान्यता रहेकोे बताइन् ।
त्यस्तै नेकपाका सांसद नारदमुनि रानाले प्रधानमन्त्रीको अभिव्यक्तिपछि ठोरीको विषय राष्ट्रिय बहसको विषय बनेको बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध भारतमा जन्मेका हुन भन्दै अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै रामको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका विषयमा पुरातत्व विभागले अनुसन्धान गर्नुपर्ने धारणा राखे ।
त्यस्तैगरी नेकपाकै सांसद सरलाकुमारी यादवले प्रधानमन्त्रीले कुरा उठाएपछि त्यसलाई पुरातत्व विभागले उत्खनन गर्दै अध्ययन अगाडि बढाउनुपर्नेमा जोड दिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका अवसरमा राम नेपालमा जन्मेको र भारतमा रहेको अयोध्या नक्कली भएको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्ति सार्वजनिक भएसँगै अहिले यो विषयले बहस सृजना गरेको छ ।
पूरा भिडियाे:































प्रतिक्रिया