प्रतिनिध सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले झण्डै दोब्बर मतका साथ अग्रता कायम गरिरहेका छन् ।
२३ हजार बढी मत गणना हुँदासम्म रास्वपाका वाग्लेले ११ हजार ६ सय ७७ मत पाएका छन् भने नेपाली काँग्रेसका गोविन्द भट्टराईले ६ हजार ७ सय ८७ मत पाउँदा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन् । उनले ३ हजार ८ सय २ मत मात्रै पाएका छन् ।
आइतबार सम्पन्न भएको उपनिर्वाचनको मतदानमा तनहुँ क्षेत्र नम्बर १ मा ६३ हजार ७५७ मत झरेको छ । यो क्षेत्रमा रास्वपाका वाग्लेले कांग्रेस र एमालेका धेरै मत काटेको देखिन्छ । जसमा तुलनात्मक रूपमा एमालेको धेरै मत रास्वपातर्फ झरेको एमालेकै नेताहरु स्विकार्छन् ।
जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ पनि एमालेकै संगठित सदस्यहरुकै मत पार्टीका उम्मेदवार सर्वेन्द्रलाई नआएको बताउँछन् । ‘कमिटीका नेताहरुको मत हाम्रै उम्मेदवारले पाएनन्। सबै मत सोहोरिएर स्वर्णिमको पक्षमा खसेको देखिन्छ।’ उनले भने । गृहजिल्ला तनहुँ भएपनि एमालेकै नेता कार्यकर्तासँग सम्बन्ध स्थापित गर्न नसक्नु र गत मंसिरमा काठमाडौँमा पनि रास्वपासँग पराजित भएकालाई अहिले नै टिकट दिनुलाई नै खनालप्रतिको वितृष्णा रहेको नेताहरुको बुझाई छ ।
रास्वपाका वाग्लेले नेकपा माओवादी वर्चश्वको रहेको आँबुखैरेनी गाउँपालिकामा पनि अत्यधिक मत पाएका छन् । ६ वडा रहेको यो गाउँपालिकामा उनले ४४४५ अर्थात् ६६ प्रतिशत मत पाएका छन् भने कांग्रेसका भट्टराईले १६४८ अर्थात् २५ प्रतिशत मत प्राप्त गरेका छन्। त्यस्तै एमालेका खनालले ५९६ अर्थात् ९ प्रतिशत मत पाएका छन्।





























प्रतिक्रिया