बौद्धिक पलायन रोक्न सांसदको माग

बौद्धिक पलायन रोक्न सांसदको माग

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभामा सांसदहरुले मुलुकमा अवसरको कमी हुँदा बौद्धिक पलायन भइरहेको बताउँदै यसलाई रोक्नका लागि आवश्यक नीति ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद राजेन्द्रप्रसाद लिङ्देनले नेपालमा बौद्धिकता पलायन भइरहेको बताउँदै बौद्धिक पलायन रोक्नका लागि सरकारले आवश्यक कार्यक्रम अघि बढाउनपर्ने धारणा व्यक्त गरे ।

सांसद माधवप्रसाद सापकोटाले जनआन्दोलनमा लडाकुले गरेको योगदानलाई बिर्सन नहुने बताउँदै अयोग्य लडाकुको विषयमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलकै पालाको नीति तथा कार्यक्रममा व्यवस्था गरिएको बताए । उनले संसद्लाई भ्रमित पार्ने गरी यो विषयमा कुरा उठाउन उपयुक्त नभएको स्पष्ट पारे ।

सांसद गणेश पराजुलीले गत राति बाजुरामा भूकम्प गएको र आगामी दिनमा थप भूकम्प जान सक्ने विषयमा सरकारको आवश्यक तयारीका बारेमा सजग गराए । सांसद राजकिशोर यादवले बजेट निर्माण भइरहेको अवस्थामा कृषि क्षेत्रलाई प्राथमिकता राखी आवश्यक कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए ।   

सांसद अब्दुल खानले इदमा दिने गरेको एक दिनको बिदा वर्तमान सरकारले कटौती गरेकोप्रति आपत्ति प्रकट गर्दै मुस्लिम समुदायका लागि एक दिन बिदा दिने विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरे ।

सांसद प्रेम सुवालले सरकारले जनगणना २०७८ मा लिम्पियाधुरालाई किन छुट्याएको भनी प्रश्न गर्दै पटक पटक लडाकुका नाममा कार्यकतालाई पैसा बाँड्नु भ्रष्टाचार भएको बताए । सांसद प्रभु साहले नेपालमा आठ महिनायता मात्रै आठ अर्बभन्दा बढी पैसा विदेशिएको भन्दै त्यसतर्फ राज्यले ध्यान दिनुपर्ने आग्रह गरे ।

Logo