शरणार्थी प्रकरण देखाएर अन्य ठूला काण्डहरु लुकाउन खोजियोः काँग्रेस बीपी

शरणार्थी प्रकरण देखाएर अन्य ठूला काण्डहरु लुकाउन खोजियोः काँग्रेस बीपी

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेस बीपीका उपसभापति रेखा खनालले नक्कली भुटानी शरणार्थी प्रकरण देखाएर अन्य ठूला ठूला काण्डहरु लुकाउन खोजिएको आरोप लगाएकी छिन् । 

काठमाडौंस्थित माईतीघर मण्डलामा भएको भुटानी शरणार्थी प्रकरण विरुद्धको आन्दोलनमा उनले यस प्रकरणमा देशको गृहमन्त्री र गृह सचिव सामेल हुनुको पछि ठूलै सेटिङ भएको दावी गरिन् । उनले प्रधानमन्त्रीसम्मको सेटिङ नभईकन यस्तो आँट कसैले गर्न सक्छ जस्तो आफूलाई नलागेको पनि बताइन् । 

उनले भनिन्, ‘नेपालीहरुको राष्ट्रियता बेचेको अपराध अब नेपालीहरु नजाग्ने हो भने यो प्रकरण देखाएर हाई प्रोफाइललाई हिरासतमा राखेर नेपाली जनताको ध्यानलाई त्यतातिर मोडेर, २, ४ हजार व्यक्तिहरुलाई सडकमा उफारेर केपी ओली, प्रचण्ड, देउवा, उनकी पत्नी र हरेक शीर्ष दलका नेताहरुले लुट काण्ड मच्चाएका छन् । तीन पार्टीको सत्तामा धेरै भ्रष्टाचार काण्डहरु छन् । मेरो खोलिस् भने तेरो पनि खोल्छु भनेर जुन बाक्लो भेट भएको छ । प्रकरणमा देशको गृह सचिव, गृहमन्त्री त्यो भन्दा माथि प्रधानमन्त्रीसम्मको सेटिङ् नभईकन यस्तो आँट कसैले गर्न सक्छ जस्तो लाग्दैन् । केपी ओली र उनकी पत्नीसम्म तानिएको छ ।’  

यो प्रकरण भ्रष्टाचार मात्र नभइ राज्य द्रोह, राज्यमाथिको अपराधिकरण, नेपाल आमाको अस्मिता, नेपालीहरुको राष्ट्रियतालाई अन्तराष्ट्रिय स्तरमा बेच्ने काम भएको भन्दै यसले संसारभरि छरिएका नेपालीहरुको राष्ट्रियतामाथि प्रश्न उठेको र शीर निहुरिएको बताइन् । 

यसैगरी नेपाली काँग्रेस वीपीका केन्द्रीय सदस्य कर्ण मल्लले अन्तर्राष्ट्रिय मुलुकमा नेपालको बद्नामी भएको चर्चा गर्दै पूर्खाले आर्जेको स्वाभिमान, इज्जत खराब भएको बताए । उनले यो घटनाको विरुद्धमा नेपाली जनताले आवाज उठाउनु पर्ने भन्दै सरकारलेसबै फाइल खोलेर कानून अनुसार कारवाही गर्नुपर्ने माग गरे ।  

Logo