प्रधानमन्त्रीको कुर्सी : तत्कालका लागि संकट टर्‍यो

प्रधानमन्त्रीको कुर्सी : तत्कालका लागि संकट टर्‍यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमाथि आइलागेको संकट तत्कालका लागि टरेको छ । नेकपाभित्र फेरि पुष्पकमल दाहाल ओलीसँग मिल्न पुगेपछि तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बिषय तपशिलमा परेको हो ।

नेकपा सचिवालयको शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्नु पर्ने प्रस्ताव राख्दा झण्डै एक महिनादेखि राजीनामा दिनै पर्ने अडान राख्दै आएका दाहाल उनको समर्थनमा उभिएका थिए । यसले ओली र दाहाललाई एकै ठाउँमा ल्याएको छ । सचिवालयमा उनको समर्थनमा महासचिव विष्णु पौडेल, सचिवालय सदस्यहरु ईश्वर पोखरेल र रामबहादुर थापाले समर्थन गरे । शनिबारको नेकपाभित्रको बैठकमा बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने मंसिरमा महाधिवेशनको विरोध गरेका छन् । झण्डै एक महिनादेखि निकै ठूलो विवादमा परेको नेकपाभित्र शनिबारको बैठकमा कसरी एकाएक नेताहरुको पोजिसन बदलियो ? यसका पछाडी केही गोप्य सहमति र राष्ट्रपतिको समेत भूमिका छ ।

कसरी–के बिषयमा मिले ओली दाहाल ?

प्रधानमन्त्री ओलीले राजीनामा दिनै पर्ने अडानमा दाहाल नेपाल लगायतका नेताहरु थिए । स्थायी कमिटीका ३० जना सदस्यहरु पनि यही पक्षमा थिए । यसका कारण ओली अप्ठेरोमा परेका थिए । तर ओलीले कुनै पनि हालतमा पदबाट राजीनामा नदिने बरु पार्टीबाट आफूलाई कारवाही गरे हुन्छ भन्दै चेतावनी दिइरहे । ओली आफ्नो अडानबाट कुनै हालतमा तलमाथि नभएपछि दाहाल र नेपालले पार्टीको बैठक राखेर कारवाही गर्न पनि सकेनन् । त्यही कारण विवाद लम्बिइरहेका बेला ओली र दाहालबीच शनिबारको बैठकमा एकाएक नयाँ खालको गठबन्धन देखियो ।

तत्काल ओलीले राजीनामा दिनु नपर्ने, पाँच बर्ष नै सरकार चलाउन पाउने ।

केही दिन यता ओली र दाहाल एक्लाएक्लै छलफल गरिरहेका थिए । तर दुबैले आ आफ्नो समूहमा चाहीं पुरानै अडान राखिरहेको भन्दै ब्रिफिङ गरिरहेका थिए । तर केही दिन अघि नै ओली र दाहालबीच आउनो महाधिवेशनमा बन्ने समिकरणबारे कुराकानी भयो । स्रोतका अनुसार त्यही कुराकानीमा तत्काल ओलीले राजीनामा दिन नपर्ने, पाँच बर्ष नै सरकार चलाउन पाउने र दाहालले चाहीं तत्काल कार्यकारी अधिकारसहितको अध्यक्षको अभ्यास गर्ने र मंसिरमा महाधिवेशनमा दाहाललाई नै अध्यक्ष बन्नका लागि सघाउने खालको समझदारी भयो । यही समझदारीका कारण मंसिरमा महाधिवेशन गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावमा शनिबार दाहालले समर्थन जनाएका हुन् । यसअघि चैत महिनामा महाधिवेशन गर्ने सहमति थियो । त्यो समय अघि नै महाधिवेशनको कुरा आयो ।

दाहालले तत्काल कार्यकारी अधिकारसहितको अध्यक्षको अभ्यास गर्ने, मंसिरमा महाधिवेशनमा दाहाललाई नै अध्यक्ष बन्नका लागि ओलीले सघाउने ।

राष्ट्रपति निर्णायक

नेकपाको यो विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यस्थकर्ताको भूमिका गरेको स्पष्ट देखिन्छ । नेकपाको विवाद चर्किएपछि नियममित रुपमा शितल निवासमा नेकपा नेताहरुको आवत जावत चलिरहेको छ । यो बीचमा दर्जन पटक नेकपा नेताहरुले राष्ट्रपतिलाई भेटेका छन् । त्यस्तै भेटमा राष्ट्रपतिले मिलेर जान नेताहरुलाई आग्रह गर्ने गरेकी छिन् । उनले नेकपा सचिवालयका सबै नेताहरुलाई यो बीचमा भेटिन् । शनिबार पनि सचिवालय बैठक पछि अध्यक्षहरु ओली र दाहाल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मा लगायतले शितल निवासमा करिब डेढ घण्टा कुरा गरे । राष्ट्रपतिले विगतमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेकी थिइन । त्यही भूमिका अनुसार दुई अध्यक्षबीच बनेको नयाँ खालका सहमतिको उनी साक्षी बसिन् । पूर्व एमाले पृष्ठभूमिबाट राष्ट्रपति बनेकाले पार्टी भित्र विवाद बढ्दा उनलाई हारगुहार गर्न नेकपा नेताहरु पुग्ने गर्छन् ।

माधव नेपाललाई फेरि धोका

नेकपा भित्रको शनिबारको नयाँ खालको गठबन्धनले बरिष्ठ नेता माधव नेपालले फेरि धोका पाएका देखिएको छ । विगतमा पनि दाहालसँग मिलेर ओलीमाथि दबाब बढाउने गरेका नेता नेपाल अन्त्यमा दाहाल ओलीसँग मिलिदिंदा धोका पाउने गरेका थिए । यसपटक पनि नेता नेपाललाई दाहालले साथ छोडिदिए । एक महिनासम्म ओलीले राजीनामा दिनुपर्ने अडानमा सबैभन्दा बढि रिजिड नेता नेपाल नै थिए । कुनै हालतमा यसपटक विगतको जस्तो नहुने भन्दै दाहालले नेपाललाई भनिरहेका थिए । तर मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा दाहालले समर्थन गरिदिएपछि नेता नेपाल ‘सक’ भएका छन् । उनले आफूले फेरि पनि धोका पाएको महसुुस गरिसकेका छन् । त्यसैले दाहाल ओलीको पक्षमा उभिने वित्तिकै सचिवालय बैठकमा नेता नेपालले ‘दुई जना मात्र मिलेर जाने कुरा गरे आफू देशव्यापी अभियानमा जान्छु’ भनेर चेतावनी दिएका छन् ।

नेता नेपालले पार्टी भित्र विधि र पद्धति अनुसार चल्नुपर्छ भन्दै आएका छन् । यो सैद्धान्तिक र कार्यशैलीगत कुरा भएकोले यसको समाधानले मात्र पार्टीभित्र समाधान दिने उनको तर्क छ । तर ओली र दाहालले आ–आफ्नो पद र भूमिका सुरक्षित गर्ने हिसाबले मात्र अहिलेको संकट समाधान गर्ने खालको दिशामा भएपछि नेता नेपाल असन्तुष्ट बनेका हुन् । यसले तत्कालका लागि नेकपा भित्रको चर्किएको विवाद त केही साम्य पारेको छ तर फेरि पनि अर्को खालको विवाद भने रहिरहने देखिएको छ ।

Logo