नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।
प्रहरीले अनुसन्धान थालेपछि सम्पर्कविहीन भएका अध्यक्ष मियाँलाई बिहीवार प्रहरीले सिंहदरबारबाटै पक्राउ गरेको हो । शरणार्थीको नाममा ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।
गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको नाममा रहेकाे बि.ए.बी–१४०५ नम्बरको निशान पेट्रोल जिपमा पीडितहरूलाई बायोमेट्रिक गराउन र अन्तर्वार्ता दिन बोलाएर गिरोहका सदस्यहरू सो गाडी प्रयोग गर्ने गरेको खुलेको छ । सो गाडी पनि प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
उक्त गाडीको नम्बर पटकपटक फेरेर चलाइएको बताइएकाे छ । गिरोहले गृहकै गाडी प्रयोग गरेको भन्ने जानकारी प्राप्त गरे पनि नम्बर प्लेट नै फरक परेपछि प्रहरी अलमलमा परेको थियो । अन्तिममा यातायात व्यवस्था विभागबाट सो गाडी पुष्टि गरी प्रहरीले केही दिनअघि बरामद गरेको हो।
प्रतिक्रिया