प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्ड र गौर हत्यकाण्डको अनुसन्धान गरी निष्कर्षमा पु-याउने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरूको अनुसन्धान गरी निचोडमा पुग्ने बताएका हुन् ।
‘ठूलाठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजीनीति गरिन्छ। ठूलाठूला भयानक हत्याकाण्डहरू छन्, ती हत्याकाण्डहरूको खोजीनीति गर्नुछ। चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड ।’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले आम नागरिकलाई जनतालाई अब केहि हुन्छ भन्ने आभाष दिलाउने गरी काम गर्ने बताए । उनले भने, ‘त्यसको छिनोफानो भएको छैन। नेपाली जनताको मनमा धेरै ठूलाठूला शंकाहरू छन्। के भएको हो भन्ने कुराको सत्यतथ्य आएको छैन। यी सबै कुराहरू पनि हामीले लगेर नयाँ विश्वास जनतामा जगाउनु छ। अब केही हुन्छ र हुनसक्छ भनेर ।’
उनले भ्रष्टाचारका सबै फाइलहरू खोलिने र २०४६ सालको ऐतिहासिक जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहरूको बारेमा पनि खोजीनीति गरिने बताए ।































प्रतिक्रिया