राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्।

सरकारकाे आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन् । मन्त्रिपरिषद् बैठकले १२ जेठमा राष्ट्रपति पौडेललाई नागरिकता विधेयक प्रमाणीकरण गर्न अनुरोध गरेको थियो ।

अघिल्लो संसदले दुई पटक पारित गरेर पठाएको उक्त विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् । नेपाली कांग्रेसका रामचन्द्र पौडेल नयाँ राष्ट्रपतिमा निर्वाचित भएपछि २९ फागुनमा भण्डारी शीतल निवासबाट विदा भइन् । त्यसपछि अलपत्र पारेको नागरिकता विधेयक कसरी टुंगो लगाउने भन्नेबारे राष्ट्रपति पौडेलले कानूनी परामर्श गरिरहेका थिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजबाट भारतको चार दिने औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको भारत भ्रमणको  दिन नागरिकता विधेयक प्रमाणीकरण हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई पनि भेटेका थिए ।

विधेयकमा नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मान्ने, नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने प्रावधान समावेश छ । साथै विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेमा त्यस्तो व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेलगायतका प्रावधान विधेयकमा छन् ।

Logo