प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा आफूले प्रस्ताव नगरेकोमा पश्चात्ताप गरेका छन्।
सोमबार गिरिजाप्रसाद कोइरालाको सयौं जन्म जयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गिरिजालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउने प्रस्ताव नगरेर आफूले गल्ती गरेको बताएका हुन्।
आफूले गिरिजाको चाहनाविपरीत पनि कतिपय काम गरेको उनले स्वीकारे। 'उहाँ (गिरिजाप्रसाद कोइराला)मा कुनै दुविधा, अविश्वास या आशंका थिएन। बरु मैले गल्ती गरेँ उहाँले गर्नुभएन। मैले उहाँसँगको पहिलो भेटमा भनेको कतिपय कुरा र गरेका प्रतिबद्धता पूरा गर्न सकिनँ। मैले उहाँको चाहनाविपरीत पनि कतिपय निर्णय गरेँ,' उनले भने,'म गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा उहाँलाई मैले पहिलो राष्ट्रपतिको प्रस्ताव गर्न सकिनँ। मलाई पश्चात्ताप छ। मैले प्रस्ताव नगरेपछि पहिलाको जस्तो विश्वास गर्नुहुन्न भन्ने लागेको थियो। तर,अविश्वास गर्नुभएन।'





























प्रतिक्रिया