लम्पी स्किन रोग नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

लम्पी स्किन रोग नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महामारीको रूपमा पशु चौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न निर्देशन दिएका छन् । 

रोग नियन्त्रणका लागि प्रधानमन्त्री प्रचण्डले आवश्यक चासो राख्दै कृषि तथा पशुपन्छीमन्त्री डा बेदुराम भुसाल र मन्त्रालयका उच्च अधिकारीलाई आवश्यक निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले प्रभावकारीरूपमा पशु स्वास्थ्यकर्मी परिचालन गर्न, खोप आपूर्ति बढाउन तथा तत्काल खोप लगाउनका लागि जनशक्तिको आवश्यक प्रबन्ध गर्नसमेत सम्बद्ध अधिकारीलाई स्पष्ट निर्देशन दिएका छन् । 

सरकारले हालसम्म सात लाख ३७ हजार डोज खोप आयात गरी सातै प्रदेशमा उपलब्ध गराएको छ । पशु सेवा विभागका अनुसार एक लाख ७२ हजार एक सय २८ पशु चौपायामा खोप लगाइसकिएको छ ।

महामारी नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा स्थानीय तहमा सङ्घीय सरकारले सःशर्त अनुदानअन्तर्गत रु एक लाखका दरले बजेट उपलब्ध गराइएको छ । 

विभागका महानिर्देशक डा सम्झना कुमारी काफ्लेका अनुसार सङ्घीय सरकारले एक सय ६१ स्थानीय तहमा भेटेरिनरी डाक्टर र सबै स्थानीय तहमा प्राविधिकको व्यवस्थापनका लागि बजेट उपलब्ध गराएको छ ।

प्रदेश र स्थानीय तहसँग समन्वयका लागि सम्पर्क व्यक्ति तोकिएको छ । रोग रोकथाम तथा उपचारमा खटिने प्राविधिकका लागि प्राथमिक उपचारको जानकारीसहित सूचनामूलक सामग्री प्रकाशित र प्रसारित गरिएको छ ।

लम्पी स्किन गाईभैँसीमा भाइरसको कारण लाग्ने महामारी रोग हो । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने र दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठा देखिन्छ । गिर्खा केही समयपछि हराउने वा कहिलेकाहीँ गिर्खा फुटेर घाउ हुने, किरा र औँसा पर्ने, नाकमुखभित्र, कल्चौँडा, थुनमा घाउ हुने, आँसु, -याल, सिँगान बग्ने, चिप्रा कचेरा लाग्ने, खुट्टा जोर्नी सुन्निनेजस्ता लक्षण देखिने महानिर्देशक काफ्लेले जानकारी दिइन् ।

उनका अनुसार सङ्क्रमित पशुमध्ये सामान्यतया एकदेखि तीन प्रतिशतसम्म पशु मर्न सक्ने र बिरामी पशुलाई स्याहारसुसार र प्राथमिक उपचार नपाएमा मृत्युदर बढ्न सक्छ ।  बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दुधालु र गर्भिणी गाईभैँसी यस रोगका कारण मर्न सक्ने भएकाले विशेष ख्यालको आवश्यक रहेको महानिर्देशक काफ्लेको भनाइ छ ।

अफ्रिकी महादेशमा मात्रै सीमित यो रोग युरोप हुँदै बङ्गलादेश, चीन तथा भारतमा देखापरेपश्चात् पहिलोपटक नेपालमा विसं २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकामा गाईमा देखा परेको थियो । रोग देखा परेपश्चातका सुरूका दुई वर्षमा यस रोगबाट १६ जिल्लाका २९ पालिकाका तीन हजार तीन सय एक पशु सङ्क्रमित भई १३ वटा पशु मरेका थिए ।

चालु आवमा लम्पी स्किन रोगको प्रकोप देशैभरि महामारीको रूपमा फैलिँदा मनाङबाहेकका सम्पूर्ण जिल्लामा रोग पुष्टि भएको विभागको भनाइ छ । गत चैतदेखि कोशी प्रदेशका केही जिल्लामा रोगको प्रकोप देखापरेको र क्रमशः अन्य प्रदेशमा फैलिई हालसम्म ७६ जिल्लामा पुष्टि भएको छ ।

यस रोगबाट कर्णाली, सुदूरपश्चिम, कोशी र लुम्बिनी प्रदेशका मध्यपहाडी तथा पहाडी क्षेत्रमा बढी प्रभाव परेको विभागको भनाइ छ । हालसम्म प्राप्त तथ्याङ्कअनुसार सात लाख नौ हजार दुई सय तीन पशु सङ्क्रमित भएकामध्ये चार लाख ५३  हजार आठ सय १९ निको भएका छन् । यस्तै रोगबाट २५ हजार हजार सात सय ८२ पशु मरेका छन् । हाल दुई लाख २९ हजार छ सय दुई पशु सक्रिय सङ्क्रमित अवस्थामा छन् । सङ्क्रमणको दर क्रमशः घट्दै गइरहेको विभागको दाबी छ ।

Skip This
Skip This
Logo