राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विदेशीहरुको सिको गरेर मौलिक मान्यताहरु समाप्त गर्ने प्रवृत्ति चलिरहेको गुनासो गरेका छन् ।
नेपाल सनातन धर्म संस्कृति संगठनले सनातन हिन्दू राष्ट्रका लागि सोमबार मैतीदेवीदेखि पशुपतिसम्म आयोजना गरेको पदयात्रा पश्चात अध्यक्ष लिङ्देनले नेपालको सनातन संस्कृति, परम्परामाथि विदेशीहरुको बुई चढेर, विदेशीहरुको एजेण्डाको भरिया बनेर हाम्रा मान्यताहरु समाप्त गर्ने प्रयास भइरहेको बताएका हुन् ।
उनले भने, ‘राप्रपाले धर्मको रक्षा गर्न र आफ्नो काम गर्न कसैको सिको गर्नुपर्दैन, विदेशीहरुको सिको गर्ने भएर धर्म निरिपेक्षता लाद्ने र नेपालको सनातन संस्कृति, परम्परामाथि विदेशीहरुको बुई चढेर, विदेशीहरुको एजेण्डाको भरिया बनेर हाम्रा सबै मान्यताहरु समाप्त गर्ने जुन सन्दर्भ मुलुकमा चलिरहेको छ ।’
राप्रपाले उठाई रहेको हिन्दू राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरुको मुद्दा भएको जिकिर गर्दै अध्यक्ष लिङ्देनले भने- ‘जसको मुद्दा हो उसैलाई बुझाउन नसकेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको भातृ संगठन, सनातन धर्म संस्कृति संगठनले सनातन धर्म, परम्परा, संस्कृतिको रक्षका लागि जनचेतना जगाउने, हिन्दु राष्ट्र पुस्थापनाको लागि जनदबाब सिर्जना गर्ने उद्देश्यका साथ यो पदयात्रा प्रारम्भ गरेका छौँ । यसप्रकारको पदयात्रा देशभर सञ्चालन गर्दै लाने छौँ ।’
राप्रपा शान्तिमा विश्वास गर्ने र शान्तिपूर्ण बाटोबाट नेपालमा हिन्दू राष्ट्र पुर्नस्थापना चाहेको पनि उनले प्रष्ट पारे । उनले भने, ‘हिन्दू राष्ट्रको मुद्दालाई निर्वाचन पनि उपयोग गरेका छौ, जनदबाबमूलक कार्यक्रमहरु पनि अगाडि बढाई रहेका छौ । साथै अन्य राजनीतिक पार्टीहरुलाई पनि सहमतिमै मान्यताहरु स्थापित गरौं भनेर प्रयास गरिरहेका छौ ।’
राप्रपा अध्यक्ष लिङ्देनले राजनीतिले धर्ममाथि हस्तक्षेप र हिन्दू राष्ट्र समाप्त गरेपछि यो केवल रामनामी ओडेर मात्रै नफर्किने स्पष्ट पारे । उनले यही कारण यो मुद्दामा राजनीतिक दबाब र राजनीतिक दलको नेतृत्व पनि चाहिने उल्लेख गर्दै राप्रपाले गरेको राजनीति धर्मसहितको राजनीति भएको पनि प्रष्ट पारे ।





























प्रतिक्रिया