उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग गणतन्त्र दक्षिण कोरियाका राजदूत ताई योङ पार्कले शिष्टाचार भेटघाट गरेका छन् ।
सिंहदरबारस्थित् मन्त्रालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री खड्काले नेपाल र मित्रराष्ट्र गणतन्त्र कोरियाबीचको द्विपक्षीय सम्बन्धर सहकार्यलाई थप बलियो बनाउन कोरिया सरकारको योगदानको प्रशंसा गर्दै गणतन्त्र कोरियाका राजदूतको कार्यकालको सफलताको लागि शुभकामना दिए । उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे । साथै, नेपाल र कोरियाका जनताबीच सद्भाव, स्नेह र एकता रहेको विचारसमेत व्यक्त गरे ।
सोक्रममा उपप्रधानमन्त्री खड्काले नेपाल र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्ष पुगेको अवसरमा दुई देशको सम्बन्धलाई मैत्रीपूर्ण बनाउन दुई देशले काठमाडौं र सियोलमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्न लागेकोमा खुसी व्यक्त गरे । साथै, मित्रराष्ट्र कोरिया लामो समयदेखिको भरपर्दो विकास साझेदार भएको कुरा स्मरण गर्दै उर्जा, शिक्षा, स्वास्थ्य, मानव संसाधन र ग्रामिण विकासमा कोरिया सरकारले गरेको सहयोग नेपालको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण भएको धारणा समेत व्यक्त गरे ।
नेपाली युवालाई ठूलो संख्यामा रोजगारी उपलब्ध गराएकोमा कोरिया सरकारलाई धन्यवाद व्यक्त गर्दै उपप्रधानमन्त्री खड्काले दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पुर्याउन नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सोही अवसरमा राजदूत पार्कले नेपालले सातौं पीटीपीआईएस सफलतापूर्वक आयोजना गरेकोमा सरकारलाई बधाई दिए । उनले रक्षा क्षेत्रमा दुई देशबीच थप सहयोग आदानप्रदान गर्ने सम्भावना रहेको कुरा औंल्याउँदै इपिएसअन्तर्गत नेपाल पहिलो प्राथमिकतामा रहेको र आगामी वर्ष १० हजार जनालाई रोजगारीको अवसर उपलब्ध गराउने कुरा समेत व्यक्त गरे ।
उनले कोरियाली पर्यटकका लागि नेपाल प्राथमिकतामा रहेकोले आफ्नो कार्यकालमा कोरियाली पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने विचार व्यक्त गरे ।





























प्रतिक्रिया