पार्टी स्वयं भ्रष्टाचार विरोधी बन्नुपर्छ, गृहमन्त्रीले भाषण गरेर मात्र हुँदैनः महासचिव भुसाल

पार्टी स्वयं भ्रष्टाचार विरोधी बन्नुपर्छ, गृहमन्त्रीले भाषण गरेर मात्र हुँदैनः महासचिव भुसाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले समाजवादको यात्रालाई ठीक राख्न पार्टी स्वयमलाई भ्रष्टाचार विरोधी बनाउन आवश्यक भएको बताएका छन् । 

काठमाडौंमा पुष्पलाल स्मृतिको सन्दर्भ पारेर आयोजित ‘समाजवादी यात्राको चुनौतीः भ्रष्टाचार र दण्डहीनता’ विषयक कार्यक्रममा महासचिव भुसालले समाजवादको यात्रा सुरक्षित गर्न एउटा गृहमन्त्री आएर भाषण गरेर मात्रै केही नहुने भन्दै त्यसको लागि भ्रष्टाचाररहित पार्टी निमार्ण गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘भ्रष्टाचाररहित समाजको ग्यारेन्टी कस्ले गर्छ, यो हुन सकेन भने भ्रष्टाचारको कुरा दुई दिनको मात्रै हुन्छ । भ्रष्टाचार विरोधीहरु आउँछन् तर उनीहरु नै बिक्न थाल्छन्, त्यसो नगर्ने हो भने उनीहरु यो समाजमा टिक्नै सक्दैनन् यो अवस्था पनि एउटा आउँछ । यसले गर्दा समाजवादको यात्रालाई ठीक राख्ने हो भने पार्टी स्वयमलाई भ्रष्टाचार विरोधी बनाउन सकिएन भने समाजवादको यात्रा सुरक्षित हुदैँन । एउटा गृहमन्त्री आएर, एउटा भाषण गरेर हुँदैन ।’ 

महासचिव भुसालले पार्टीका नेता र कार्यकर्ता आम्दानीभन्दा बढी उपभोग गर्छ भने जति प्रयास गरेपनि समाजवादको ग्यारेन्टी गर्न नसक्ने बताए । उनले भने, ‘नीतिगत रुपमा आर्थिक विकासका लागि समस्याहरु थिए तर नियत ठीक भएको कारण अरु देशमा क्रान्तिलाई निरन्तरता दिए र आज सफल भएका छन् । तर हामीले कवूल गरेको क्रान्ति हाम्रो क्रान्तिलाई कवाेल गरेका नेताहरुले त्यो हिसाबमा जान सकेनन् जसको परिणाम आज देखिएको छ ।’

Logo