कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन् ।
सर्वोच्च अदालतको आदेशमा उद्धव थापा नेतृत्वको सरकार ढलेसँगै शुक्रबार प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सर्मथमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई १६ गते अपराह्न ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।
सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापा नेतृत्व सरकार बदर गर्दै एक साताभित्र पुनः बहुमतको सरकार गठन प्रक्रियाअघि बढाउन परमादेश जारी गरेको थियो ।
कोशी प्रदेशसभामा एमाले ४० कांग्रेस २९, माओवादी केन्द्र सभामुखसहित १३, राप्रपा ६ नेकपा एकीकृत समाजवादी (नेकपा एस) ४ र जनता समाजवादी पार्टी (जसपा) १ गरी ९३ सदस्य छन्। सरकार गठनका लागि बहुमत पुर्याउन ४७ सांसदको समर्थन आवश्यक पर्छ।
सभामुखसहित गठबन्धनमा ४७ सांसद छन्। सरकार गठनमा उनको भूमिका नहुने भएको छ। अब कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि पहिलो विकल्प सभामुखले राजीनामा गरेर सरकारको दाबी गर्ने हुनेछ।
उक्त धारा अनुसार सरकार गठन हुन नसके १६८को ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठन हुनेछ। प्रदेश प्रमुखले कोशी प्रदेशको सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्ति गर्नुपर्ने हुन्छ।






























प्रतिक्रिया