सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वमा असर २१ गते गठन भएको कोशी प्रदेश सरकार बदर गरिदिएसँगै सत्तारुढ राजनीतिक दलहरू नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन्।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापा नेतृत्व सरकार बदर गरेसँगै प्रदेश प्रमुखले साउन १६ गतेभित्र नयाँ मुख्यमन्त्री दाबी पेस गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने दललाई आह्वान गरेका छन्। त्यससँगै सत्तारुढ नेपाली काँग्रेस र माओवादी केन्द्र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई साथमा लिगेर नयाँ सरकार गठनको प्रयासमा छ।
सोही अनुसार शनिबार दुई दलका नेताहरु शनिबार बालुवाटारमा छलफलमा जुटको थिए भने काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरेका छन्। आज (आइतबार) बिहान ९ बजे कोशी प्रदेशका संसदीय दलका नेताहरुलाई गठबन्धनका दलहरूले बालुवाटार बोलाएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीलाई साथमा लिगेर सरकार गठन गर्ने प्रयास सम्भव नभए सत्ता गठबन्धनले प्रदेशसभाका सभामुखलाई राजिनामा गराएर भएपनि साउन १६गतेसम्म मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन्।
कोशी प्रदेशसभामा एमाले ४० कांग्रेस २९, माओवादी केन्द्र सभामुखसहित १३, राप्रपा ६ नेकपा एकीकृत समाजवादी (नेकपा एस) ४ र जनता समाजवादी पार्टी (जसपा) १ गरी ९३ सदस्य छन्। सरकार गठनका लागि बहुमत पुर्याउन ४७ सांसदको समर्थन आवश्यक पर्छ । सभामुखसहित गठबन्धनमा ४७ सांसद छन्।
सर्वोच्च अदालतले पनि संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अर्को सरकार गठनको विकल्प रहेसम्म त्यसकै आधारमा अघि बढ्न भनेको छ। संविधानको धारा १६८ को उपधारा (२) अनुसार कोशी प्रदेशमा सरकार गठनका लागि तत्काल अर्को विकल्प देखिँदैन।
उक्त धारा अनुसार सरकार गठन हुन नसके १६८को ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठन हुनेछ । प्रदेश प्रमुखले कोशी प्रदेशको सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्ती गर्नुपर्ने हुन्छ ।





























प्रतिक्रिया