नेकपा एसका अध्यक्ष नेपाल आज स्वदेश फर्कँदै, ललिता निवास प्रकरणमा सहयोग गर्ने

नेकपा एसका अध्यक्ष नेपाल आज स्वदेश फर्कँदै, ललिता निवास प्रकरणमा सहयोग गर्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फर्कँदैछन्। भदौ १ गतेसम्मका लागि विदेशका कार्यक्रममा सहभागी हुन गएका अध्यक्ष नेपाल आफनो भ्रमण छोट्याएर आज स्वदेश फर्कन लागेका हुन्।

सो पार्टीका उपमहासचिव गंगालाल तुलाधारका अनुसार अध्यक्ष नेपाल आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छन्। एक साता अघि स्विटजरल्याण्डलगायत युरोपमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनका लागि गएका अध्यक्ष नेपाल ललिता निवास प्रकरणमा छानविनको दायरामा परेपछि अचानक स्वदेश फर्कने निर्णयमा पुगेका हुन्।

पूर्व निर्धारित कार्यक्रम अनुसार गत साउन २२ गते युरोप गएपनि त्यसको एक दिन अघि सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नेपाललगायत बाबुराम भट्टराईलाई पनि छानविन गर्ने बाटो खोलिदिएको थियो।

सर्वोच्च अदालतले आदेश दिएको भोलीपल्ट विदेश गएपछि धेरैले ‘फरार’ भएको भन्दै आलोचना गरेपछि अध्यक्ष नेपालले त्यसको प्रतिवाद गर्दै आएका थिए। युराेपबाटै उनले आफू निर्दोष भएको जनाउँदै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)लाई अनुसन्धानमा सहयोग गर्ने जनाउँदै आएका छन्। गत साउन २१ गते अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुमाथि अनुसन्धान गर्न आदेश जारी गरेको थियो।

Logo