नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले संघीय संसदको अवरोध हटाउन कुनै चासो नदिएको आरोप लगाएका छन्।
प्रमुख प्रतिपक्ष एमालेले सदनमा उठाएका विषयलाई एकपछि अर्को गर्दै पुष्टि गर्ने काम मात्र गरेको आरोप लगाउँदै बर्तौलाले अहिलेकै अवस्थामा आइतबार पनि संसद बैठक सुचारु हुन नसक्ने संकेत गरेका हुन्।
सरकारले शुक्रबार नक्कली भूटानी शरणार्थी र सुन प्रकरणमा अनुसन्धान गरिरहेका नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको सरुवाले सुन तस्करीमा एमालेको उच्चस्तरीय समिति बनाउनुपर्ने मागलाई पुष्टि गरेको दाबी गरे।
प्रहरी अनुसन्धान आफू प्रतिकुल हुन लागेपछि सरकारले अनुसन्धानमा रहेका प्रहरीलाई नै सरुवा गरेको उनको आरोप छ। ‘सरकारले हाम्रो मागलाई सम्बोधन गर्न कुनै पहल गरेको छैन। सुन प्रकरणमा उच्चस्तरीय छानविन समितिको आवश्यकता र हाम्रो मागको औचित्यलाई सरकारले आफू प्रतिकूल हुने देखेपछि गरेको प्रहरी अधिकारीको सरुवाले पुष्टि गर्छ,’ उनले भने,‘यसले सरकारले आफू अनुकूल गर्न जे गर्दा पनि हुन्छ भन्ने रवैया र गम्भीर संकेत देखाएको छ।’
प्रधानमन्त्री पुष्पकमल दाहालले आजबाट संसद चल्छ भनेर शनिबार बताएका थिए। तर, एमाले सचेतक बर्तौलाले भने संसद खोल्न प्रधानमन्त्रीबाट कुनै पहल नभएको दाबी गरे। ‘उहाँ प्रधानमन्त्रीले संसद चल्छ भन्नुभयो,तर अहिले सम्म कुनै छलफलको वातावरण बनाउने प्रयास भएको छैन,’ उनले भने,‘प्रमज्यु संसदमै आएर हाम्रो मागलाई सम्बोधन गर्ने मनस्थितिमा हुनुहुन्छ भने त हामी साथ दिन तयारै छौँ, तर अहिलेसम्म कुनै छलफलको वातावरण नबनेकोले हामी आफ्नो माग मै कायम छौँ।’





























प्रतिक्रिया