काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न अनुरोध गरेको छ ।
सरकारी स्रोत साधनको दुरुपयोग हुन नदिन सार्बजनिक विदाका दिनमा सरकारी सवारी साधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यालयहरु मार्फत् विगतदेखि नै हुँदै आएको स्मरण गराउँदै काठमाडौं प्रशासनले भनेको छ- ‘पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरुलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरुमा व्यक्त भएका अभिव्यक्तिहरुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ। यसर्थ आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा वाधा अवरोध नपुन्याउनु, हुन र विभिन्न सामाजिक सञ्जालहरुमा जथाभावी बक्तव्यवाजी नगर्नु/नगराउनु हुन सम्वन्धित सबैमा अनुरोध गरिन्छ।’
गत शनिबार साँझ स्वास्थ्यमा जटिलता देखिएपछि मेयर बालेनले चढ्ने महानगरको गाडीमा मेडिसिटी अस्पताल गएकी मेयर पत्नी सविना काफ्लेलाई कोटेश्वरमा चेकजाँचमा बसेको ट्राफिक प्रहरीले रोकेपछि यो विवाद भएको हो । त्यसलगत्तै मेयर बालेनले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेका थिए, “आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार।”
त्यसपछि प्रश्रव पीडा र शारीरिक समस्यामा रहेकी मेयर पत्नी काफ्लेमाथि प्रहरीले चेकजाँचका नाममा अनावश्यक केरकार गरेको र असभ्य व्यवहार देखाएको भन्दै मेयरकाे सचिवालयले प्रेस विज्ञप्ति पनि जारी गरेपछि प्रहरी प्रशासनमाथि चर्काे आलाेचना भएङ्काे थियाे । यद्यपि मेयर बालेनको फेसबुक पेजमा अहिले त्यो स्टाटस देखिँदैन।
यस्तो छ जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको विज्ञप्ति-





























प्रतिक्रिया