अभियन्ता सापकोटाले कांग्रेस सहमहामन्त्री यादवलाई किन हाने खुकुरी ?

अभियन्ता सापकोटाले कांग्रेस सहमहामन्त्री यादवलाई किन हाने खुकुरी ?


नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब बाहिर सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सहमहामन्त्री यादवलाई ट्रमा सेन्टरमा लगिएको छ। रिपोर्टस क्लबको कार्यक्रम सकेर बाहिर निस्केर गाडी चढ्न लाग्दा यादवमाथि खुकुर प्रहार भएको हो। 

यादवको टाउकोको पछाडिको भागमा चोट लागेको छ। ट्रमा सेन्टरमा उपचाररत उनकाे अवस्था खतरामुक्त रहेको पनि बताइएकाे छ । 

सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा एक अभियन्तालाई पक्राउ गरेको छ। नुवाकोट जिल्ला बिदुर नगरपालिका-७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी आफूलाई अभियन्ता भन्ने गर्छन् । 

कार्यक्रममा उनी भादगाउँले टोपी, टिसर्ट, हाफ ज्याकेट र झोला बोकेको देखिएका थिए । तर, सहमहामन्त्री यादवको भाषण धैर्यतापूर्वक सुनेका उनले बाहिर निस्किएपछि झोलाबाट खुकुरी झिकेर आक्रमण गरेका थिए । सहमहामन्त्री यादवलाई ‘एमसीसीको मतियार’ भन्दै सापकोटाले खुकुरी हानेका थिए । तर, सापकोटा किन सांघातिक आक्रमणमै उत्रिए भन्नेबारे भने पूर्णरुपमा खुलिनसकेकाे प्रहरीले जनाएकाे छ । 

 

Logo