सरकारले बिजनेस दिन नसकेर राष्ट्रिय सभा बैठक अनिश्चित, प्रतिनिधिसभा २७ गते मात्रै

सरकारले बिजनेस दिन नसकेर राष्ट्रिय सभा बैठक अनिश्चित, प्रतिनिधिसभा २७ गते मात्रै

केन्द्रबिन्दु
0
Shares

सरकारले सदनलाई विधेयक दिन नसकेपछि संसद् बिजनेस विहीन भएको छ। सरकारसँग बैठक नियमित चलाउने कुनै एजेन्डा नभएपछि राष्ट्रिय सभाको बैठक बस्ने मिति नै अनिश्चित भएको हाे।

आइतबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक एजेन्डा नै नभएपछि संसद् सचिवालयले सूचना निकालेर बैठक स्थगित गरेको छ।

यस्तै प्रतिनिधिसभा बैठक सञ्चालनका लागि समेत एजेन्डा नभएपछि प्रतिनिधिसभाको बैठक पनि एक सातापछि मात्रै बस्ने गरी मिति तय गरिएको छ। प्रतिनिधिसभाको बैठक भदौ २७ गतेका लागि बोलाइएको छ।

आइतबारका लागि तय भएको राष्ट्रिय सभा बैठक कारणवश स्थगित भएको संघीय संसद्का महासचिव भरतराज गौतमले सूचना मार्फत शुक्रबार जानकारी दिका थिए। 

भदौ २४ गते आइतबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन नहुने उल्लेख गर्दै उक्त सूचनामा भनिएको छ, ‘सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’

सरकारले कुनै विधेयक ल्याउन सकेको छैन।  संघीय संसदका दुवै सदनको बैठक नियमित सञ्चालनमा लागि सरकारसँग न विधेयक छ न एजेण्डा नै। 

प्रतिनिधिसभामा ल्याउन लागिएको एक मात्र विधेयक पनि कानून, न्याय तथा मानवअधिकार समितिमा अड्किएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी विधेयक पनि सरकारले संसदमा ल्याउन सकेको छैन।

टीआरसी विधेयक आउँदो भदौ २७ गतेभित्र संसदमा लैजाने  गरि काम टुंग्याउने तयारी समितिको छ। तर, उक्त विधेयक संसदमा छलफलका लागि नल्याउँदासम्म प्रतिनिधिसभा पनि बिजनेस विहीन बनेको छ।

संसदमा छलफल गर्ने विधेयक, एजेण्डा नभएकै कारण प्रतिनिधिसभाको बैठक २७ गतेका लागि डाकिएको छ।०७९ मंसिर ४ को निर्वाचनपछि बनेको सरकारले प्रतिनिधिसभा सुरु भएको आठ महिनामा पाँचवटा विधेयक मात्रैअघि बढाएको छ। योअवधिमा मिटरब्याज सम्बन्धी विधेयक मात्रै संसदबाट पारित भएको छ। 

Logo