सरकारले नै आतंककारीलाई प्रोत्साहन गरेको एमाले अध्यक्ष ओलीको आरोप

सरकारले नै आतंककारीलाई प्रोत्साहन गरेको एमाले अध्यक्ष ओलीको आरोप

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैंले आतंककारीलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् । 

तेजाव आक्रमण विरुद्धको जागरण दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले मानिसको नामै लिएर सार्वजनिक रुपमै ज्यान मार्ने धम्की दिँदा समेत सरकारले केही गर्न नसकेको आरोप लगाएका हुन् । 

उनले भने, ‘आतंककारीहरुलाई सरकार आफैंले प्रोत्साहित गरिरहेको छ । बढाईरहेको छ । स-परिवार मार्छु भनेर धम्की दिन्छ । त्यस्तालाई नियन्त्रणमा लिदैन । अस्ती खुकुरी हान्छु भन्ने मान्छेले ४ दिन अगाडि नै खुकुरी हान्छु भनेर माईतीघरमा खुट्ट उचालेको थियो । मानिसको नाम लिएको थियो । तर, सरकार कानमा तेल हालेर बसेको थियो ।’

अध्यक्ष ओलीले मानव जातिबाट नै विभिन्न जघन्य अपराध, कूकर्म हुने गरेको स्मरण गर्दै पछिल्लो समय झनै मानिसहरु स्वार्थी हुँदै गएको बताए । उनले भने,‘आजको जमानामा जहाँ मानव जातिले यति ठूलो विकास गरेको छ र मानव जाति आफूलाई यति सभ्य ठान्छ तर अरु प्राणी या जीवबाट यस्ता जघन्य अपराध,कूकर्म हुँदैन । मानव जातिबाटै हुन्छ । सचेत छ तर सदुपयोग मात्र नभएर दुरुपयोग पनि गरिरहेको छ । चेतना छ, सचेत छैन । स्वार्थी छ अमानवीय छ यसरी समाजलाई विगारेको छ ।’

अध्यक्ष ओलीले तेजाव आक्रमण विरुद्धको आवाज संसदमा झनै प्रभावकारी ढंगले उठाउने बताए । 

Logo