नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत नेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।
मंगलबार च्यासलस्थित एमाले पार्टी कार्यालयमा अध्यक्ष ओलीले पूर्वसभामुख समेत रहेका एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका हुन् ।
साथै सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरले पनि नेम्वाङकाे पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरेका श्रद्धाञ्जली दिएका छन् ।
साथै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् । विभिन्न राजनीतिक दलका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुकहरु पनि श्रद्धाञ्जलीका लागि त्यहाँ पुगेका छन् ।
नेम्वाङको हृदयघातका कारण गएराति निधन भएको हो । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका उनलाई गएराति अचानक हृदयघात भएको थियाे। हृदयघात लगत्तै उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएका उनको उपचारको क्रममा निधन भएको थियो।
नेम्वाङको पार्थीव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ। सरकारले पनि नेम्वाङलाई राष्ट्रिय सम्मान दिनुका साथै उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेकाे छ ।





























प्रतिक्रिया