नेम्वाङको मृत्युले पार्टीका साथै राष्ट्रलाई ठूलो क्षति भएकाे छः शङ्कर पोखरेल

नेम्वाङको मृत्युले पार्टीका साथै राष्ट्रलाई ठूलो क्षति भएकाे छः शङ्कर पोखरेल


नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुवासचन्द्र नेम्वाङको मृत्युले पार्टीको साथै राष्ट्रको लागि पनि ठूलो क्षति भएको बताएका छन्। 

आज ललितपुरस्थित पार्टी कार्यालयमा भएको सुवासचन्द्र नेम्वाङको शोकसभालाई सम्बोधन गर्दै उनले आजको नेम्वाङ मुलुकलाई अपरीहार्य व्यक्तिका रुपमा रहेको भन्दै उनको मृत्यु राष्ट्रिय राजनीतिका सन्दर्भमा ठूलो क्षति भएको बताएका हुन्। 

उनले भने,‘आजको राष्ट्रिय राजनीतिका सन्दर्भमा नेम्वाङ मुलुकलाई अपरिहार्य रहेको व्यक्तिका रुपमा रहनु भएको थियो, त्यो क्षति पार्टीको साथै राष्ट्रले पनि भोग्नु परेको छ। सांसदका हिसाबले पनि सुवासचन्द्र नेम्वाङ सबैभन्दा योग्य सांसदका रुपमा रहेका छन्। संसदीय मामिलाको सबैभन्दा बढि मर्म बुझेका व्यक्तिका रुपमा पनि उहाँलाई बुझिन्छ। नेताको साथै कानूनी सल्लाहाकारको रुपमा पनि भूमिका निर्वाह गर्नु भएको थियो।’ 

आज नेम्वाङप्रति श्रद्धाका साथ अभिव्यक्ति दिनेहरुले नेम्वाङले राष्ट्रिय हित र एकताका बारेमा व्यक्त गरेका विचारहरुको सम्मान गर्न सकेको भए सहि अर्थमा सुवासचन्द्र नेम्वाङप्रतिको श्रद्धा र सम्मान हुने उनको भनाइ छ।

उनले एमालेलाई बलियो राजनीतिक शक्तिका रुपमा प्रस्तुत गनुपर्ने आवश्यकता भएको अवस्थामा पार्टीले ठूलो क्षति भोग्नु परेको बताए। 

उनले भने,‘उहाँले नेपाली समाजलाई अनुशासित र मर्यादित समाजका रुपमा अगाडि बढाउन प्रेरित गर्ने व्यक्तिका रुपमा लिन सक्छौँ। अब नेपालमा धेरै राजनीतिक दल होईन, बलिया राजनीतिक दलहरुको आवश्यकता छ। एमालेलाई बलियो राजनीतिक शक्तिका रुपमा प्रस्तुत गनुपर्ने आवश्यकता छ। यस्तो समयमा सुवासचन्द्र नेम्वाङको मृत्यु पार्टीका लागि ठूलो क्षति हो।’
 
उनले कोशीको नामाकरण विषय निकाल्दै नामाकरणको अवस्थामा सबैको साथ र सहयोग भए पनि अहिले सबैतर्फबाट एमालेमाथि प्रहार भईरहेको टिप्पणी गरेका छन्।

उनले भने, ‘कोशीको नामाकरण गर्ने विषयमा प्रधानमन्त्री र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा दुवैसँग छलफल गर्ने क्रममा साथ दिए पनि अलिह सबैले एमालेलाई नै प्रहार गर्ने काम गरिरहेको छ। कोशि नामाकरण गर्ने समयमा सबैजना पक्षमा उभिएको थिए तर अहिले एमालेलाई मात्रै प्रहार भइरहेको छ ।’

Logo