शिक्षकहरूको समस्या चाँडै समाधान हुन्छः कार्यवाहक प्रधानमन्त्री खड्का

शिक्षकहरूको समस्या चाँडै समाधान हुन्छः कार्यवाहक प्रधानमन्त्री खड्का


कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरूको समस्या चाँडै समाधान हुने बताएका छन् । 

बिहीबार सानेपामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा कार्यवाहक प्रधानमन्त्री खड्काले शिक्षकका समस्याबारे सरकार गम्भीर रहेकाे र वार्ता थालेको जानकारी दिए । उनले शिक्षकहरूले मुलुकको अवस्था र संविधानले गरेको प्रबन्धलाई बुझेको र वार्ताबाट चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

‘उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आजदेखि शिक्षकहरूसँग वार्ता सुरू भएको छ । शिक्षकहरूको समस्या समाधान हुन्छ । हामीले समस्या समाधान गर्छौं।’ उनले भने । 

कार्यवाहक प्रधानमन्त्री खड्काले वार्तामा सरकारले गरेको सहमति कार्यान्वयन गरेरै छाड्ने बताए । शिक्षा नियमावलीमा राख्नुपर्ने बाँकी विषय छलफल र वार्ता गरेर टुंग्याउने उनको भनाइ छ । 

सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् । नेपाल शिक्षक महासंघ र उपप्रधानमन्त्री श्रेष्ठसहितले आज विहान गृह मन्त्रालयमा वार्ता गरे पनि छलफल निष्कर्षमा पुगेको थिएन ।

Logo