प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रसंघीय महासभामा नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन अन्तर्राष्ट्रिय समुदायको सहयोगबारे ध्यानाकर्षण गराएको बताएका छन् ।
अमेरिका र चीनको औपचारिक भ्रमणपपछि स्वदेश फिर्ता भएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग बोल्दै यस्ताे बताएका हुन् । उनले अमेरिकामा भएकाे राष्ट्रसंघीय महासभामा नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग, जलवायु परिवर्तन तथा यसले अल्पविकसित देशहरुमा पारेका प्रभाव तथा त्यसको निराकरणका उपायहरुको बारेमा विश्व समुदायको गम्भीर रुपले ध्यानाकर्षण गराएको पनि बताए ।
उनले भने, ‘महासभामा मैले नेपालको तर्फबाट सम्बोधन गरें । यसमा प्रमुख रुपमा नेपालको शान्ति प्रक्रिया र त्यसलाई ठोस निष्कर्षमा पुर्याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग, जलवायु परिवर्तन तथा यसले नेपाललगायत अल्पविकसित देशहरुमा पारेका प्रभाव तथा निराकरणका उपायहरु, हिमाली राष्ट्रहरुको समस्या, दिगो विकासका लक्ष्य प्राप्तिमा अल्पविकसित राष्ट्रको समस्या प्रस्तुत गर्दै ती समस्या समाधानमा स्रोत र साधनको व्यवस्थापनका लागि विश्व समुदायको गम्भीर रुपले ध्यानाकर्षण गरिएको छ ।’
जलवायु परिवर्तनको चपेटमा परेका नेपाललगायत राष्ट्रहरुलाई सहज वित्तीय पहुँचको व्यवस्था गर्न माग गरेको भन्दै जलवायु परिवर्तनसम्बन्धी नेपालले अपनाएका नीति र लक्ष्यहरु बारे विश्व समुदायलाई जानकारी गराउँदै नेपालले हासिल गरेको उपलब्धि एवं जलवायु अनुकूलनमा पुर्याएको योगदान विश्वसमक्ष प्रष्ट रुपमा राखेको पनि उनको भनाई छ ।





























प्रतिक्रिया