काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको बैठकबाट निरन्तर भाग्न थालेका छन् । शनिबार बालुबाटारमा बसेको तेस्रो दिनको स्थायी कमिटीको बैठकमा उपस्थित भएको केही समयमा नै ओली निस्किएका हुन् । सरकारी काम परेकाले अध्यक्ष ओली बैठकमा केही समय उपस्थित भएर निस्किएको बताइएको छ । शुक्रबार बसेको पार्टीको बैठकमा पनि अध्यक्ष ओली अनुपस्थित थिए । शुक्रबारको बैठकमा अध्यक्ष ओेली केही समयमा उपस्थित हुने बताइए पनि १८ जना स्थायी कमिटी सदस्यहरुले धारणा राख्दा समेत उपस्थित भएका थिएनन् ।
बालुवाटारमा बसेको पार्टीको बैठकलाई उपेक्षा गरिएको भन्दै ओलीको चर्को आलोचना गरिएको थियो । ओलीको अनुपस्थिति मै नेताहरुले नेपालको अतिक्रमित भूमि समेटेर सरकारले जारी गरेको नक्साको प्रशंसा गर्दै भूमि फिर्ताका लागि कूटनीतिक सम्वादमा जानु पर्नेमा जोड दिएका थिए ।
यसअघि पनि अध्यक्ष ओलीलाई स्थायी कमिटीको बैठक पटक पटक स्थगित गर्ने मुख्य जिम्मेवार व्यक्ति मानिदै आएको थियो । गत वैशाख २५ र ३१ मा बस्ने भनिएको स्थायी कमिटीको बैठक पनि ओलीकै कारण अन्तिम समयमा आएर रोकिएको दाहाल–नेपाल पक्षको बुझाइ छ । गत वैशाख १० मा २० जना नेपाल दाहाल पक्षका स्थायी कमिटी सदस्यहरुले तत्काल पार्टीको स्थायी कमिटी बैठक बोलाउन दुई अध्यक्षलाई पत्र लेख्दै माग गरेका थिए । उनीहरुको माग अनुसार वैशाख २५ का लागि बोलाइएको बैठक पनि अघिल्लो दिन ऐजेण्डा तय हुन नसकेको भन्दै स्थगित भएको थियो ।
त्यस्तै वैशाख ३१ मा पार्टी मुख्यालयमा तय भएको बैठक पनि कोरोना भाइरसको जोखिम बढेको भन्दै ओली पक्षले नै स्थगित गरेको थियो । लामो समयदेखि पार्टीको बैठकबाट भाग्दै आएका ओली अन्तिम समयमा एमसीसी सम्झौता कार्यान्वयन गर्ने समय नजिकिएसँगै स्थायी कमिटीको बैठक राख्न बाध्य भएका थिए । अहिले पनि अध्यक्ष ओली पार्टीकाे बैठकबाट विभिन्न वाहाना देखाउँदै अनुपस्थित हुन थालेका छन् ।
जेठ १० मा बसेको बैठकले छलफलका लागि सात एजेण्डा तय गरेको थियो । सात एजेण्डामा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षको मन्तव्य, कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल, सीमा समस्या र समाधान, सरकारका कामको समीक्षा, पार्टी एकताका बाँकी कामहरु, एमसीसी र विविध रहेका छन् । विविधमा रुकुम घटनाको सन्दर्भ, प्रतिनिधि सभामा पेश भएको नागरिकता विधेयक र संघीय संसदका सदस्यहरुको भत्ता सम्बन्धी रहेका थिए ।































प्रतिक्रिया