इजरायलमा ज्यान गुमाएकाका परिवारलाई १० लाख दिने सरकारकाे निर्णय

इजरायलमा ज्यान गुमाएकाका परिवारलाई १० लाख दिने सरकारकाे निर्णय

केन्द्रबिन्दु
0
Shares

सरकारले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारलाई १० लाख दिने निर्णय गरेको छ। 

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले हमासको आक्रमणमा ज्यान गुमाएकाहरुका परिवारलाई तत्काल १० लाख राहत उपलब्ध गराउने निर्णय गरेको हो । 

सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि इजरायल पुगेका विद्यार्थीमध्ये १० जनाको निधन भएको छ । ४९ विद्यार्थीमध्ये केही निरन्तर सम्पर्कमा आउन थालेका छन्। राजदूतावासका अनुसार ४ जना घाइते छन् भने एकजना सम्पर्कविहीन छन्। 

ज्यान गुमाउनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन्। पचनाली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि आक्रमणमा मृत्यु भएको छ। 

यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि त्यहाँ रहेका विद्यार्थी विपिन सुवेदीसँग भिडिओ वार्ता गरेका थिए।

Logo