राप्रपाद्वारा कोशीमा प्रमुख प्रतिपक्षी दलका लागि दाबी

राप्रपाद्वारा कोशीमा प्रमुख प्रतिपक्षी दलका लागि दाबी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका लागि दाबी पेस गरेको छ।

राप्रपा प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारसमक्ष प्रमुख प्रतिपक्षी दलका लागि दाबी पेस गरेका हुन्।

कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा (५) अनुसार नेपाली काँग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका छन्। उनले प्रदेश सभाबाट विश्वासको मत पनि लिइसकेका छन्।

कार्कीलाई संसदमा प्रतिनिधित्व रहेका राप्रपा बाहेका सबै दलले विश्वासको मत दिएका छन्। विश्वासको मत लिने प्रस्तावमा मुख्यमन्त्री कार्कीका पक्षमा ८६ मत परेको थियो भने विपक्षमा ५ मत परेको थियो। विपक्षमा राप्रपाको मत परेको हो। ६ जना सांसद रहेकामा राप्रपाका एकजना अनुपस्थित थिए।

९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ३९, काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेश सांसद छन्। उनीहरु सबैले कार्कीलाई विश्वासको मत दिएका थिए।

राप्रपा संसदीय दलका नेता सिटौलाले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ को दफा २ को खण्ड (ङ) अनुसार राप्रपा प्रमुख प्रतिपक्षी दल भएको र उक्त दलको नेताका रुपमा आफू प्रमुख प्रतिपक्षी दलको नेता भएको उल्लेख गर्दै त्यसअनुसार सेवा सुविधाका लागि दाबी पेस गरेका छन्।

Skip This
Skip This
Logo