नेकपा स्थायी कमिटी बैठक पुनः बस्नेदेखि एसइई मूल्याङ्कन कार्यविधि सार्वजनिकसम्म (भिडियोसहित)

नेकपा स्थायी कमिटी बैठक पुनः बस्नेदेखि एसइई मूल्याङ्कन कार्यविधि सार्वजनिकसम्म (भिडियोसहित)


काठमाडौं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेकपाको स्थायी कमिटी बैठक अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सम्बोधन पछि सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बुधबार बिहान साढे ११ बजेदेखि बालुवाटारमा सुरु भएको बैठकमा दुई अध्यक्षको सम्बोधनपछि सकिएको हो ।

त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ का कारण थला परेको व्यवसायलाई सहयोग पुग्ने गरी मौद्रिक नीति आउने बताएका छन् । गभर्नर अधिकारीले बुधबार अन्तवार्ता दिँदै सो कुरा बताएका हुन् ।

विज्ञहरुले द्वन्द्वकालीन घटनाहरुको समयमै व्यवस्थापन गर्न नसके देश ठूलो संकटमा फस्ने चेतावनी दिएका छन् । बुुधबार बसेको महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै विज्ञहरुले संयुक्त राष्ट्रसंघले सम्पूर्ण गतिविधिहरु नजिकबाट नियालिरहेको उल्लेख गर्दै ती घटनाहरुको व्यवस्थापन समयमै गर्न नसके देश ठूलो संकटमा फस्ने चेतावनी दिएका हुन् ।

त्यस्तैगरी एमसीसी सम्झौता कार्यान्वयन गर्ने वा नगर्ने भन्ने विषयमा नेकपाभित्रै मतभिन्नता देखिएको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी कार्यान्वयन गर्ने पक्षमा छन् भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य भिम रावल लगायतका नेता सम्झौता यथास्थितीमा पास गर्न नहुने पक्षमा रहेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले कोरोनाका कारण एसइई दिन नपाएका विद्यार्थीको अन्तिम मूल्यांकन बुझाउन निर्देशन दिएको छ । बोर्डले हालै अन्तिम मूल्याङ्कन विवरण सम्बन्धित विद्यालयहरूले शिक्षा विकास तथा समन्वय एकाइमा पठाउन निर्देशन दिइएको हो । गत जेठ २८ को मन्त्रिपरिषद्को बैठकले विद्यालयको अन्तिम मूल्यांकनको आधारमा नतिजा निकाल्ने निर्णय गरेको थियो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

 

Logo