अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेच गर्छौँः प्रधानमन्त्री प्रचण्ड

अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेच गर्छौँः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सङ्कटमुक्त भइसके पनि दबाबमुक्त हुन नसकेको र अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी गरिएको बताएका छन् । 

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित उपत्यकाका केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको दबाब हटाउनु सरकारको मुख्य प्राथमिकता भएको बताएका हुन् । उनले भने, “हामीले सरकारको नेतृत्व गर्ने बेला अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा थियो । तर, सरकारको मेहेनतका कारण अर्थतन्त्र सङ्कटमुक्त भएको छ । विदेशी मुद्राको सञ्चिति, राजस्व सङ्कलन र परिचालन, पर्यटक आगमन, विप्रेषणलगायत क्षेत्रका सूचक हेर्दा हामी प्रगतितिरै छौँ ।”

अर्थतन्त्र अझै पनि दबाबमुक्त भइनसकेको उल्लेख गर्दै उनले अर्थतन्त्रको दबाब हटाउने विषय सबैभन्दा ठूलो कार्यभार हुन आएको बताए । उनले भने, “सामान्य वा टालटुले तरिकाले अर्थतन्त्रको दबाब हट्दैन भन्ने मलाई राम्रोसँग हेक्का छ । तसर्थ, छिट्टै नेपाल सरकारका सबै मन्त्रीहरू, सचिवहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र आर्थिक क्षेत्रका विज्ञहरूको बृहत् बैठकको आयोजना गर्छौँ ।”

नेपालको बजेट बनाउने प्रणाली र प्रक्रियाले अर्थतन्त्रलाई सहयोग नगरेको जनाउँदै प्रधानमन्त्री प्रचण्डले परम्परागत ढङ्गले बनाइने नीति, कार्यक्रम र बजेटले देशको समस्या सम्बोधन गर्न नसक्ने बताए । उनले भने, “नीति कार्यक्रम पेस गरेपछि संशोधन नै नहुने, बजेट प्रस्तुत भएपछि रातो किताब हेरफेर नै नहुने हाम्रो प्रणाली र तरिका गलत छ ।”

Logo