हिन्दु राज्य र राजाका नाममा सस्तो लोकप्रियताबाट माथि उठ्न नेता आचार्यकाे सुझाव

हिन्दु राज्य र राजाका नाममा सस्तो लोकप्रियताबाट माथि उठ्न नेता आचार्यकाे सुझाव


नेपाल जनता पार्टीका वरिष्ठ नेता खेम आचार्यले हिन्दु राज्य र राजाको नाममा विभिन्न व्यक्ति, संस्था र निकायबाट सस्तो लोकप्रियताका लागि भइरहेको एजेण्डाविहीन गतिविधिभन्दा माथि उठेर आफ्ना एजेण्डा तय गर्न राजा र हिन्दु राज्यको माग गर्दै आएकालाई सुझाएका छन् । 

काठमाडौंमा आज ‘नेपालका लागि नेपाली पार्टी’ ले राष्ट्रियता, हिन्दु राज्य, राजा लगायतका विविध विषयमा छलफल गर्न आयोजना गरेको अन्तरक्रियामा उनले  देशको अर्थतन्त्र बलियो र सम्पन्न भए मात्रै राष्ट्रियता बलियो हुने धारणा राखे । उनले राष्ट्रियता, हिन्दु राज्य र राजाका नाममा गरिने आन्दोलन र गतिविधिले व्यक्तिलाई फाइदा पुगे पनि देशको वास्तविक समस्या अर्थतन्त्र र नागरिको आर्थिक अवस्था बलियो नभई राष्ट्रियता बलियो नहुने धारणा राखे । 

उनले भने, ‘अहिले के देखिरहेको छ भने विभिन्न गतिविधि गरेर आफ्नो हाइट बढाउने, केही सिट जितेर संसदमा जाने लडाइँभन्दा पर गएर अबको २० वर्ष पछाडि नेपाललाई कस्तो बनाउने त्यो सोच्नुपर्यो । अहिले देश कुन दिशामा गएको छ त्यता ध्यान दिऔं । राष्ट्रियता बलियो त्यो बेलामात्रै हुन्छ जतिबेला तपाईंसँग अर्थ हुन्छ र सम्पन्न बन्नुहुन्छ ।’

कार्यक्रममा नेपाल संरक्षण अभियानका अध्यक्ष विष्णुप्रसाद शर्मालगायत वक्ताले राजाबिना देश विकास नहुने, हिन्दु राज्यबिना राष्ट्रियता कमजोर हुने तर्क गर्दै त्यसका लागि सडक आन्दोलनमा जानुपर्ने धारणा राखे । 

नेता आचार्यले सस्तो लोकप्रियता र लाभको भावमा परेर भन्दा वास्तवमै एजेण्डा, रणनीति र कार्ययोजना बनाएर अघि बढ्न सुझाए । 

‘हामी २० हजार वा लाख नै मान्छे सडकमा निकालौंला तर २ करोड पचास लाख मान्छे विपक्षमा छन् । त्यो विषयमा चिन्तन गरौं र त्यहीअनुसार रणनीति बनाऔँ । अहिले देश कुन दिशामा गएको छ त्यसमा हामी चिन्तन गर्दैनौं । देशमा नागरिक बस्ने वातावरण कसरी सिर्जना गराउने, हामी के गर्छौ भने अहिले हामीलाई नेता बन्नु छ तर भोलिका निम्ति चिन्तन गर्नु नै छैन । आफ्नै छोराछोरी यो देशका नामरिक हुन्छन् कि हुँदैनन् त्यसमा चिन्तन, रणनीति, योजना केही छैन । यदि साँच्चै आन्दोलन गर्ने हो भने तपाईंहरुले आफ्नो एजेण्डा प्रस्ट र फाइनल गर्नुस् । सार्वजनिक रुपमा यसरी बसेर हैन, पुग्ने कहाँ हो त्यो तय गर्नुस् । परिवर्तन छिटो हुँदैन, यो प्रतिशोधको राजनीति होइन रणनीति बनाउनुस् ।’ 

देशमा रोजगारी सिर्जना गरी दक्ष जनशक्ति पलायन रोक्नुपर्ने र अर्थ, उद्योगधन्दाको विकास, रोजगारी, प्रविधिलगायत विविध पक्षमा लामो रणनीति बनाएर कार्य गर्न एजेण्डा मिल्नेहरु लाग्नुपर्नेमा उनले जोड दिए ।

Logo