‘स्वतन्त्र भएर नेपालले कानून बनाउँदा मुडभेड गर्नुपर्ने कारण के ?’ : वेदुराम भूसाल

‘स्वतन्त्र भएर नेपालले कानून बनाउँदा मुडभेड गर्नुपर्ने कारण के ?’ : वेदुराम भूसाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद बेदुराम भूसालले स्वतन्त्र भएर नेपालले कानून बनाउँदा मुडभेड गर्नुपर्ने कारण के छ, भन्दै प्रश्न गरेका छन् ।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै भूसालले नेपाल आफ्नो खुट्टामा आफै उभिनुपर्छ भन्दा मुडभेड गर्ने कारण के छ भन्दै कांग्रेसलाई प्रश्न गरे । सोमबारको बैठकमा कांग्रेस सांसद जितेन्द्र नारायण देवले दिएको अभिव्यक्तिको खण्डन गर्दै उनले भने, ‘‘राजनीतिक दुर्घटना निम्त्याउने भनिएको छ, के का लागि दुर्घटना निम्त्याउने ? के भारतसँग जोडिएन नेपाल भनेर ? के भारतको छोटेभाइ भएन नेपाल भनेर ? हामीले हाम्रो आफ्नो स्वतन्त्र कानुन बनाउँदा मुडभेड गर्ने कारण के छ ? नेपालले आफ्नो खुट्टामा आफै उभिनुपर्छ भन्दा मुटभेड गर्ने ?’’

समितिले सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान राखेपछि कांग्रेस सांसद देवले नेपाललाई चीनको झोलामा राख्न खोजिएको, साम्प्रदायिक दंगा भड्काउन खोजेको भारतसँगको सम्बन्ध तोड्न खोजेको प्रतिक्रिया दिएका थिए । आजको बैठकमा भूसालले देवको भनाइको खण्डन गर्दै भारतले सात वर्षसम्म बसेपछि मात्रै नागरिकताका लागि आवेदन दिन सक्ने कानून बनाउने त्यही अनुसारको व्यवस्था नेपालमा हुँदा के भिन्नता भयो भन्दै प्रश्न गरे ।

अंगीकृत नागरिकता प्राप्त नगर्दा राजनीतिक र प्रशासनिक अधिकार प्राप्त नहुने उल्लेख गर्दै उनले स्थायी आवासिय अनुमति दिने व्यवस्था गरिएपछि सांस्कृतिक अधिकारमाथि कसरी आक्रमण हुन्छ भन्दै प्रश्न गरे ।

देवले चीनको झोलामा नेपाललाई राख्न खोजिएको भन्दै दिएको अभिव्यक्तिको पनि उनले खण्डन गरे । भारतसँग जस्तै चीनसँग पनि प्राचिन कालदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै उनले भने, ‘‘भारतसँगको सम्बन्ध कट गर्दै चीनको झोलामा जाने भनेर के भन्न खोजिएको हो ? के भारतको झोलामा जान खोजिएको हो त ? नेपाल सधैभरी भारतको चंगुलमा बस्नुपर्छ भन्न खोजिएको हो ? नेपालले स्वतन्त्र ढंगले निर्णय गर्दा नेपाललाई भारतबाट टाढा बस्न खोजिएको भनिन्छ ? के सधैभरी भारतको चंगुलमा बस्नुपर्छ भनिएको हो । यस्ता अभिव्यक्तिलाई जहिले पनि नेपाललाई भारतको अधिनस्त बनाउने खोजिएको हो किन नभन्ने ?’’

भारतीय नागरिकसँग विवाह गरेको कुनै पनि व्यक्तिले निरन्तर ७ वर्षसम्म बसेपछि नागरिकताका लागि आवेदन गर्न सक्ने भनेको छ । हामी पनि त्यही गर्दै छौँ के भिन्नता भयो ?

उनले राजनीतिक अभिष्ट पूरा गर्नका लागि निराधार र कपोकल्पित तर्क नगर्न पनि आग्रह गरे । उनले भुटानमा १० वर्ष, श्रीलंकामा ७ वर्ष माल्दिभ्समा १२ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान रहेको समेत स्मरण गराए । नेपालले भारतबाट विवाह गरेर आउने महिलाका लागि मात्रै कानून बनाएको उल्लेख गर्दै उनले अन्य मुलुकबाट विवाह गरेर आउने महिलाहरुमा पनि यो कानून आकर्षित हुने बताए ।

Skip This
Skip This
Logo