नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्था विरुद्ध वितृष्ण फैलाउन अनेक तत्त्वहरूले काम गरिरहेका बताएका छन्।
समृद्धिको लाग संकल्प यात्रामा निस्केका ओलीले आइतबार दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै प्रक्रियावादीहरू गणतन्त्रलाई उल्टाउने कुरा गर्न लागेका बताएका हुन्। तर उनीहरूको यो कुचेष्टा सफल नहुने उनकाे दावी छ।
‘आज कोही प्रतिगमन तिर फर्कने कुरा गर्दैछ भने त्यो देशद्रोही हो,त्यो लोकतन्त्र विरोधी हो, त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो’,ओलीले भने।
लोकतन्त्रको विरोधमा बोल्ने र त्यस बारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको उनले स्पष्ट पारेका छन्। ‘त्यो नेपाल र नेपालीको हित विपरीतको कुरा हुन्छ’, ओलीले भने।
नागरिकसँग भेटौँ र पार्टीका सन्देश जनताका बिचमा पुर्याउँ र नागरिकका कुरा सुन्न सकौँ भनेर एमालेले पूर्व पश्चिम मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियान चलाएको ओलीले बताए। विभिन्न प्रकारका भ्रम चिर्न र राष्ट्रिय एकता कायम गर्न अभियान सञ्चालन गरिएको उनले प्रष्ट पारेका छन्।
अहिले गठबन्धनले गरेको कामको कारण विकास रोकिएको बताउँदै ओलीले त्यसो भन्दैमा देश बनाउन नसकिने भन्ने कुरा नभएको बताए। नेपाल जस्तो उर्वर देशलाई दुनियाँको आकर्षकको केन्द्र बनाउन सकिने उनले दाबी गरेका छन्।
एमालेलाई सरकारबाट हटाएको अढाई वर्षमा देशमा अराजकता र अस्थिरता पैदा भएको भन्दै ओलीले चिन्ता व्यक्त गरेका छन्। अहिले देशको अर्थतन्त्र चौपट भएर देशमा गरिबी बढेको उनकाे भनाइ छ।
एमाले सकारमा छँदा युवा बिदेसिने क्रम घटेको, देशमा स्वरोजगारी बढेको, देश विकासले गति लिएको उनले दावी गरेका छन्। ‘फेरी पनि एमाले चाहिन्छ देश विकासको लागि, देशलाई विकासको बाटोमा अघि बढाउनको लागि नेकपा एमालेको एकल बहुमतको सरकार चाहिन्छ’,ओलीले भने।
यसै प्रति जनताको अभिव्यक्ति जागोस् र जनताको बिचार के रहेछ भन्ने कुरा बुझ्न अभियान चलाएको ओलीले बताए। जनतासँग भएको तीन चारदिनको भेटले वर्तमान गठबन्धन सरकारसँग जनता वाक्य दिक्क भएको आफूले पाएको ओलीले बताए।































प्रतिक्रिया