काठमाडौं ।
पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी उपाध्यक्ष वामदेव गौतमबीच दूरी बढ्दै गएको छ । ओलीको आफू अप्ठ्यारोमा परेको बेला गौतमलाई साथ लिने र वातावरण सहज भएपछि वास्ता नगर्ने प्रवृतिले दुईबीचको दूरी बढ्दै गएको हो । पछिल्लो समय ओली र गौतमबीचको दूरी बढ्दै गएको वामदेवको सचिवालयले जारी गरेको सूचनाबाट पनि पुष्टि हुन्छ । गौतमको नीजि सचिवालयले उपाध्यक्ष गौतम सरकारमा जाने हल्ला पूर्णतः निराधार रहेको स्पष्ट पारिसकेको छ ।
त्यस्तै सचिवालयका सदस्य तथा प्रेस संगठनका नेता समेत रहेका विश्वमणि सुवेदीले पनि आफ्नो फेसबुक स्टाटसमार्फत ओली र गौतमबीचको दूरी बढ्दै गएको स्पष्ट पारिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति पार्टीभित्र असहमति रहेकाले उपाध्यक्ष गौतम पनि सोही समूहमा रहेको उनको भनाइ छ । उनले फेसबुक स्टाटसमा लेखेका छन् –‘केपी ओलीका कार्यशैलीमाथि पार्टी नेतृत्वभित्रै अनगिन्ती असहमति छन् । समयक्रममा ती बाहिर आउनेछन् । वामदेव यही कित्तामा अडिग हुनुहुन्छ । एमसिसीसहितका विभिन्न निर्णय प्रक्रियामा उहाँ प्रधानमन्त्रीको साथमा हुनुहुन्न । सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिट्टै सामुहिक प्रतिक्रिया आउँदैछ । वामदेवलाई पनि त्यहीँ भेटिदैछ ।’
त्यस्तैगरी गौतम र ओलीबीचको दूरी बढ्दै गएको अर्को उदाहरणका रुपमा बिहिबार दिउँसो पौने २ बजेदेखि खुमलटारमा बसेको बैठकलाई पनि लिन सकिन्छ । एमसीसीमा पार्टीभित्र सहमति जुटाउन स्थायी कमिटी बैठकको मिति तय भए लगत्तै खुमलटारमा भएको बैठकमा सचिवालयका चार सदस्यहरु उपस्थित थिए । जसमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी भएका थिए ।
नेकपाका कूल सचिवालय सदस्य ९ जना मध्ये बहुमत सदस्य एमसीसी सम्झौता यथास्थितिमा अनुमोदन गर्न नहुने पक्षमा छन् । एमसीसी लगायतका विषयमा छलफल गर्न भन्दै नेकपाले असार १० मा स्थायी कमिटी बैठक बोलाएको छ । तर, स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई असहयोग गर्ने प्रष्ट नै छ । त्यसैले प्रधानमन्त्री ओलीले वामदेव गौतमलाई आफ्नो पक्षमा पार्न खोजिरहेका बेला आफू ओलीसँग नभएको विभिन्न माध्यमबाट स्पष्ट पारेका छन् । पछिल्लो शक्ति सन्तुलन अनुसार एमसीसीलाई लिएर सचिवालय र स्थायी कमिटीमा प्रधानमन्त्री ओली अल्पमतमा परेका छन् । सचिवालयका ९ सदस्यमध्ये ६ जना सदस्य एमसीसीलाई यथास्थितीमा पारित गर्न नसकिने अडान राख्दै आएका छन् । श्रोतका अनुसार उपाध्यक्ष गौतमले एमसीसीको मुद्दामा आफू प्रधानमन्त्री ओलीसँग नरहेको खुमलटार बैठकमा स्पष्ट पारेका थिए ।
उपाध्यक्ष वामदेव गौतम निवास भैंसेपाटीमा गत पुस २३ मा प्रधानमन्त्री ओलीलाई पार्टी र सरकारमा अप्ठ्यारो पार्ने गरी सचिवालयका बहुमत सदस्यले मोर्चाबन्दी गरेका थिए । प्रधानमन्त्री ओलीले गत वैशाख ८ मा दुई अध्यादेश ल्याएपछि ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबैबाट राजीनामा गराउने गरी नेकपाभित्र वार कि पारको अवस्था आएको थियो । उनीहरूले वैशाख १७ को सचिवालय बैठकमा खुलेरै ओलीको राजीनामा समेत माग गरेका थिए । त्यसपछि ओलीले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने र कोरोनापछि आफूले राजीनामा दिएर प्रधानमन्त्री बनाउने ललिपप देखाएर उनीहरुको गठबन्धन तोड्न सफल भएका थिए । ओलीको उक्त ललिपपमा परेर गौतमले आफ्नै निवासमा गठन भएको भैंसेपाटी गठबन्धन ताेडेर ओलीकाे कित्तामा उभिन पुगेका थिए ।





























प्रतिक्रिया