काठमाडौं ।
नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले भारतसँग वार्ताको समान हैसियत कायम गर्न संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।
नेपालको नयाँ नक्सालाई निशान छापमा समावेश गर्न प्रस्तुत संविधान संशोधनमाथिको छलफलमा उनले भारतसँग वार्ताको समान हैसियत बनाउन पनि संशोधन आवश्यक रहेको बताए । भारतले आफ्नो संसदबाट नक्सा जारी भएपछि पछाडी हट्न नसकिने बताइरहँदा नेपालको संसदले पनि आफ्नो नक्सा पारित गरेपछि वार्ताको समान हैसियतमा पुगिने उनले बताए ।
अधिकारीले आज संसदबाट नक्सा पास गरी भोलि कालापानीमा गएर लड्ने नभई वार्ताबाट नै सबै समस्या समाधान गरिने बताए । नेपालको मुल लक्ष्य कालापानीबाट भारतीय सेना फिर्ता गरी नेपालको नागरिक शासन लागु गर्नु भएको उनले बताए ।
उनले वार्तामा जानका लागि नेपालको तर्फबाट बोलीमा संयमता अपनाउन जरुरी रहेको बताए । उनले भने, ‘‘बोलीमा किन तिक्तता ल्याउने ? यो आवश्यक छैन । असंयमित भाषा, टिप्पणी गर्नु नेपालको स्वभाव पनि होइन र यो विवादलाई अब स्थानीयकरण गरौँ । बाँकी अरु कुराहरुमा नेपाल भारतको मित्रतालाई अगाडी बढाउने हो ।’’





























प्रतिक्रिया