नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण सात महिनापछि शुक्रबार रिहा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएपछि उनी थुनामुक्त भएका हुन् ।
बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्न आदेश दिएपछि नेता खाणले शुक्रबार धरौटी वापतको बैंक ग्यारेन्टी बुझाएका थिए ।
उनीविरुद्धको मुद्धामा जिल्ला अदालत काठमाडौंले पुर्पक्षकालागि कारागार चलान गर्न आदेश दिएकोमा उच्च अदालतले बदर गरिदिएको हो । यसअघि यही मंसिर १५ गते थुनामा रहेका ६ जनालाई धरौटी र साधारण तारेखमा छोड्ने आदेश भएकोमा पूर्वगृहमन्त्री खाणका विषयमा न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि निर्णय हुन सकेको थिएन। खरेलले खाणलाई थुनामै राख्नुपर्ने राय दिएका थिए। यता पाण्डेले भने ३० लाख धरौटीमा छाड्नुपर्ने राय दिएका थिए । दुई न्यायाधीशबीच राय बाझिएपछि तेस्रो न्यायाधीशसमक्ष पठाउने निर्णय भएको थियो । बिहीबार न्यायाधीश कोइरालाले न्यायाधीश पाण्डेको रायसँग सहमति जनाउँदै खाणलाई धरौटीमा छाड्न आदेश दिएका हुन्।
शरणार्थी प्रकरणमा गत जेठमा पक्राउ परेदेखि नै पूर्वगृहमन्त्री खाण थुनामा थिए ।
यसअघि मंसिर १५ गते पाण्डे र खरेलको संयुक्त इजलासले ९ जनालाई थुनामै राखिरहन आदेश दिएको थियो भने भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित ६ जनालाई धरौटीमा रिहा गर्न र बाँकी ४ जनालाई साधारण तारिखमा रिहाइको आदेश दिएको थियो ।
अमेरिका लैजाने प्रलोभनमा नक्कली भुटानी शरणार्थी खडा गरी करोडौं रकम संगठित रूपमा असुलेको अभियोगमा सरकारले गत जेठ १० गते पूर्वगृहमन्त्रीद्वय खाण र टोपबहादुर रायमाझीसहित ३० जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा संगठित अपराधसहित किर्ते र ठगीमा मुद्दा दायर गरेको थियो । रायमाझीसहित टेकनारायण पाण्डे, इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भनिने गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पा भने अझै थुनामै छन् ।































प्रतिक्रिया