सर्वोच्च अदालतमा न्यायाधीशका लागि प्रस्तावित अब्दुल अजीज मुसलमान र सारंगा सुवेदीमाथिको संसदीय सुनुवाइ शुक्रबार सम्पन्न भएको छ ।
प्रतिनिधि सभाअन्र्तगत सार्वजनिक लेखा समितिमा भएको सुनुवाइमा दुवैले आफूमाथि उठेका प्रश्नको जवाफ दिएका छन् । सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीश सारंगा सुवेदीले न्यायपालिकाको रणनीतिक योजना निर्माण र सफल कार्यान्वयनमा आफ्नो ज्ञान, अनुभवको आधारमा सक्दो योगदान गर्ने बताइन् ।
उनले भनिन्, ‘महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायत विशेष संरक्षण आवश्यक पर्ने वर्गका मानिसहरुसँग सम्बन्धित विवादलाई छिटोछरितो निरुपण गरी न्यायको प्रत्याभूति दिन विशेष पहल गर्नेछु । न्यायपालिकाको रणनीतिक योजना निर्माण र सफल कार्यान्वयनमा आफ्नो ज्ञान, अनुभवको आधारमा योगदान अवश्य नै पु¥याउने छु ।’
उनले आफू न्यायिक मूल्य र मान्यताअनुसार चलेको भन्दै लोक कल्याणकारी राज्यको स्थापना गर्ने कार्यमा आफ्नो क्षेत्रबाट आवश्यक पहल गर्ने बताइन् । उनले भनिन्, ‘विधिको शासन कायम गर्न, लोकतान्त्रिक मूल्य र मान्यताहरुमा आधारित लोक कल्याणकारी राज्यको स्थापना गर्ने कार्यमा आफ्नो क्षेत्रबाट आवश्यक पहल गर्ने छु । न्याय प्रणाली र जनतामा दूरी बढी भएको अवस्थामा उनीहरुले न्यायको अनुभूति गर्न सक्ने अवस्था हुँदैन । हामी न्यायिक मूल्य मान्यताअनुसार चल्ने हो । म त्यही मूल्य र मान्यताअनुसार चलेकी छु ।’
समितिमा सुनुवाइका क्रममा अर्का प्रस्तावित न्यायाधीश मुसलमानले १० पेज लामो कार्य योजना पेस गरे । उनले लोकतान्त्रिक पद्धतिलाई मजबुत एवं सुदृढ गर्ने यन्त्र न्यायपालिका भएको भन्दै न्यायपालिका स्वतन्त्र, निष्पक्ष, पारदर्शी हुनुपर्ने बताए ।
उनले भने, ‘लोकतान्त्रिक प्रक्रियाको कसी जाँच्ने अंग न्यायपालिका हो । लोकतान्त्रिक पद्धतिलाई मजबुत एवं सुदृढ गर्ने यन्त्र पनि न्यायपालिका हो । न्यायपालिका स्वतन्त्र, निष्पक्ष, पारदर्शी बनाउनु न्यायपालिका र यसभित्र कार्यरत न्यायाधीश र कर्मचारीको कर्तव्य हो । न्यायपालिकाको हरेक काममा जनताले स्वतन्त्र भएर आलोचना गर्न पाउनु पर्छ भन्ने मेरो विश्वास छ ।’
उनले आफू सर्वोच्चको न्यायाधीश भए न्यायपालिकाले प्राप्त गरेको स्रोत साधनभित्र रही आफ्नो सेवा प्रवाहमा कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता जनाए । उनले भने, ‘न्यायपालिकाले प्राप्त गरेको स्रोत र साधनभित्र रही सेवा प्रवाहमा कुनै कमीकमजोरी हुन दिने छैन भन्ने तथ्य सबै समक्ष जाहेर गर्न चाहन्छु । आगामी दिनमा न्यायपालिकालाई स्वच्छ रुपमा अगाडि बढाउने मेरो प्रयास रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’
शुक्रबार मध्याह्न १२ बजेदेखि उच्च अदालतका दुई न्यायाधीशको सुनुवाइ सुरू भएको हो । पहिलो चरणमा न्यायाधीश सुवेदीको सुनुवाइ भएको हो भने त्यसपछि अब्दुलको सुनुवाइ भएको हो । सारंगाविरूद्ध सबैभन्दा धेरै उजुरी परेका छन् । उनीविरूद्ध ६ वटा उजुरी परेको छ भने अब्दुलविरूद्ध एउटा परेको छ ।
उच्च अदालतका न्यायाधीशहरू महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, वरिष्ठ अधिवक्ता बालकृष्ण ढकाल र सुनिल पोखरेल पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका हुन् । पहलिो दिन दुई न्यायाधीशको मात्रै सुनुवाइ भएको हो । संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । सर्वोच्च अदालतमा ७ न्यायाधीशको पद रिक्त भए पनि परिषद्ले ६ जनाको मात्र नियुक्तिका लागि सिफारिस गरेको छ ।































प्रतिक्रिया