‘सबै धर्मको मुख्य पर्वमा बिदा दिनु सम्मान हाे, यसलाई निरन्तरता दिउँ’ -रामहरि खतिवडा

‘सबै धर्मको मुख्य पर्वमा बिदा दिनु सम्मान हाे, यसलाई निरन्तरता दिउँ’ -रामहरि खतिवडा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले नेपालमा सबै धर्मको सम्मान गर्ने परम्परा विकसित भएकाले यसलाई निरन्तरता दिनुपर्ने बताएका छन् । तर, जबर्जस्ती धर्म परिवर्तनको बाटोमा मुलुकलाई लैजान नहुने धारणा उनले राखे । 

सोमबार इसाई धर्मावलम्बीहरुको मुख्य पर्व क्रिसमसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा सांसद खतिवडाले सरकारले सबै धर्मको मुख्य पर्वमा बिदा दिएर सम्मान गर्ने परम्पराको थालनी गरेको उल्लेख गर्दै यसले निरन्तरता पाउनुपर्ने बताएका हुन् । उनले भने, ‘हामीले जनै लगाउँदा बिदा पाउने तर तपाईंहरुले क्रिसमस वा ल्होसार मनाउँदा बिदा नपाउने चलन थियो, यो पद्धतिको सरकारले अन्त्य गरेर सबै धर्मको सम्मान गर्ने परम्पराको विकसित भएको छ, यसलाई निरन्तरता दिउँ ।’ 

जबर्जस्ती धर्म परिवर्तन गराउन लागेकासँग भने सचेत हुनुपर्नेमा जोड दिँदै सांसद खतिवडाले धर्म परिवर्तनको बाटोमा मुलुकलाई लैजान नहुने प्रष्ट पारे । ‘जबर्जस्ती धर्म परिवर्तनको बाटोमा मुलुकलाई लान हुँदैन । आफ्नो इच्छाले आफ्नो धर्म मान्ने पद्धतिको विकास गरौं,’ उनले भने । 

क्रिसमसको शुभकामना दिँदै सांसद खतिवडाले नेपाललाई सबै जातजाति, धर्म सम्प्रदाय मिलेर अझ धेरै एकताबद्ध, सुसंस्कृत र बलियो बनाउन लाग्नुपर्ने भन्दै त्यसका लागि आग्रह पनि गरे । ‘सबै जाति, धर्म, जाति, सम्प्रदाय मिलेर नेपाललाई अझ सुसंस्कृत, अझ दरिलो र एकताको देश बनाउन सबै मिलेर लागौं,’ उनले भने । 

Logo