पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजतन्त्र राँके भूत मात्र रहेको भन्दै कोही डराउन नपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा कांग्रेसले आयोजना गरेको ४८औं मेलमिलाप दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्दा भएका कमजोरीलाई सच्याउनतिर लाग्नुपर्ने बताएका हुन् ।
‘अब यो संघीय लोकतान्त्रिक गणतन्त्र हामीले संविधानमा प्रष्ट व्याख्या गरेका छौं । त्यसैले हाम्रो राज्य के हो भन्ने परिभाषित गर्छ । यो संविधानप्रति नेताप्रति व्यवस्थाप्रति जुन आक्रोस बढिरहेको छ यसलाई हामीले गम्भीरतापूर्वक लिएर यस विषयमा सहमति गर्नै पर्छ । लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्ने कुरामा केही कमजोरी छन्, त्यसलाई हामीले सच्याउने र राष्ट्रिय सहमतिमा जानु पर्छ ।’
गणतान्त्रिक व्यवस्था कार्यान्वयनमा भएका कमजोरी नसच्याउँदा राजतन्त्र फर्किन्छ भन्ने आवाज उठ्ने गरेको संकेत अध्यक्ष भट्टराईले गरे । उनले भने, ‘यसको मतलब पछाडि जानुपर्छ भन्ने होइन । राजतन्त्र भनेको त म पनि भन्छु राँके भूत हो, राँके भूतले फस्फोरस अलिकति बल्दा भूत भनेर मान्छे चिच्याउँछन् त्यस्तै भूत मात्र हो । त्यसबाट डराउनु पर्ने कुरा छैन ।’
सरकारको स्थिरताका लागि प्रमुख दलहरूको संयुक्त सरकार बनाउनका लागि अध्यक्ष भट्टराईले प्रस्ताव राखे ।
अहिले घोचपेचतिर भन्दा सामूहिक दायित्व लिएर निकास दिनेतिर जान सके बीपी कोइरालाजस्ता अग्रज नेताहरुप्रति सम्मान हुने धारणा उनले राखे । उनले भने, ‘हामीले अहिले घोचपेचतिर भन्दा सामूहिक दायित्व लिएर निकास दिनेतिर गयौं भने स्वर्गीय बीपी कोइराला जस्ता महान अग्रज नेताहरुप्रति सम्मान हुन्छ ।’
अध्यक्ष भट्टराईले बीपीबाट देशभित्र बहुजातीय बहुभाषिक चरित्रको राष्ट्रिय एकता कायम गर्नुपर्ने चुनौती रहेको बताए ।





























प्रतिक्रिया