बालुवाटारमा काँग्रेस र माओवादीबीच राष्ट्रिय सभा सिट भागबन्डाबारे छलफल

बालुवाटारमा काँग्रेस र माओवादीबीच राष्ट्रिय सभा सिट भागबन्डाबारे छलफल

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनमा राष्ट्रिय सभाको निर्वाचनमा सीट बाँडफाँटको विषयमा काँग्रेस र माओवादीबीच छलफल भएको छ। गठबन्धनमा सीटको भागबन्डा मिलाउन मंगलबार काँग्रेसका शीर्ष नेताहरू बालुवाटार पुगेर छलफल गरेका हुन्।

छलफलमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए। माओवादीबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए।

दुई दलबीचको छलफलमा यसअघिको मतभार, अहिलेको अवस्थाबारे प्रारम्भिक छलफल भएको छ। आगामी फागुन २० मा एमालेका (एक मनोनीत) सहित ९, काँग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदैछ।

जसमा कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुनेछ। आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ।

Logo