उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई समृद्ध बनाउने जिम्मेवारी सबैको रहेकाले विकासका एजेन्डालाई एकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भए भएको ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटनसत्रमा मन्त्री खड्काले राजनीतिज्ञले जनताको साथ लिएर सम्पूर्ण शक्ति प्रयोग गरी एकताबद्ध भइ विकासको गतिलाई अगाडि बढाउन आवश्यक रहेको बताएका हुन् ।
नेतृत्व लिने कुरा महत्वपूर्ण नभएको भन्दै उनले कमजोरीलाई स्वीकार गरी नयाँ सङ्कल्प र विश्वासका विकासका लागि एकजुट हुन आग्रह पनि गरे । राजनीतिक आस्था फरकफरक भए पनि प्रदेश बनाउनका लागि न्यूनतम समझदारी हुनपर्ने उनको भनाइ थियो ।
प्राथमिकतामा कुनै तलमाथि भए पनि कर्णालीको जलस्रोत उपयोग, सडक, मैदान तथा अन्य विकास निर्माणमा कुनै विवाद नभएको उपप्रधानमन्त्री खड्काले उल्लेख गरे । उनले जलस्रोतको उपयोग गर्न लगानीकर्तासँग समझदारी भइरहेको समेत सो अवसरमा जानकारी दिए । “जलविद्युत् क्षेत्रका लगानीकर्ताका लागि बजारको सुनिश्चितता हुने गरी काम भएका छन्”, उनले भने, “यसमार्फत कर्णालीको विकासमा सहयोग पुग्नेछ ।”
दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी पाएको कर्णाली प्रदेशले सबैको प्रयासमा सफलतापूर्वक सम्पन्न गर्न उपप्रधानमन्त्री खड्काको सुझाव थियो । उनले रङ्गशाला निर्माणका लागि धन्यवाद दिँदै खेलकूदसम्बनधी संरचना निर्माणका लागि सङ्घीय सरकारले बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता समेत जनाए ।
३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता भएका छन् । प्रतियोगिताका लागि आर्थिक सहयोग कर्णाली प्रदेश सरकार गर्नेछ भने व्यवस्थापकमा कर्णाली प्रदेश भलिबल सङ्घ रहेको सङ्घका कर्णाली प्रदेश अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिएका छन ।
यस प्रतियोगितामार्फत राष्ट्रिय टिम छनोट हुनेछ । खेलाडी व्यवस्थापन सङ्घले गर्नेछ । यसअघि २०५५ सालमा सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना भएको थियो ।





























प्रतिक्रिया