सुदूरपश्चिम प्रदेशसभाः विषयगत समितिका सभापति चयन आज

सुदूरपश्चिम प्रदेशसभाः विषयगत समितिका सभापति चयन आज

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापति पदको चयन आज  हुँदैछ।  प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि प्रदेश सभाका विषयगत समितिका सभापति चयनको प्रक्रिया अघि बढाइएको हो। 

प्रदेशसभा सचिवालयले प्रकाशन गरेको निर्वाचन कार्यतालिका अनुसार मंगलबार समितिका सभापति पदका प्रत्यासीले आ आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

प्रदेशसभामा सार्वजनिक लेखा, विधायन तथा प्रदेश मामिला,अर्थ विकास तथा प्राकृतिक स्रोत,र सामाजिक समिति छन्। यस बाहेक ‘विशेष अधिकार’ समिति थप गर्ने तयारी भएको जनाइएको छ। 

प्रमुख दलहरूबीच भएको सहमति अनुसार विधायन तथा प्रदेश मामिलामा समितिको सभापतिमा नेपाली काँग्रेसका देवानसिंह विष्ट,सामाजिक विकास समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)की माया पन्त, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका वीरबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन्। 

नेकपा(माओवादी केन्द्र)ले ‘विशेष अधिकार’ समितिको नेतृत्व गर्ने समझदारी भएको जनाइएको छ। विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा उम्मेदवारी दिएका काँग्रेसका देवानसिंह विष्टले भने,“प्रदेशसभामा हाल रहेका विषयगत समितिका सभापति सम्भवतः निर्विरोध निर्वाचित हुने देखिन्छ,सदन चलेपछि विशेष अधिकार समितिको गठन र त्यसको सभापति सदस्यहरूको चयन गर्ने प्रकृया अघि बढ्नेछ।” 

समिति नेतृत्व विहीन हुँदा प्रदेश सरकारका काम कारवाहीको नियमन र निगरानी गर्ने काम हुन नसकेको मात्र नभई समितिका आफ्ना आन्तरिक कामकारबाही पनि ठप्प प्रायः थिए।

यसअघि गत असोजमा समितिका सभापति छनोट गर्न प्रकाशन भएको निर्वाचन कार्यतालिका अन्तिममा स्थगन गरिएको थियो। काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरेका छन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा काँग्रेस,माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, नेकपा(एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी सहित छ दल र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ।

Skip This
Skip This
Logo