१५ दिनभित्र प्रहरी समायोजन प्रक्रिया टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

१५ दिनभित्र प्रहरी समायोजन प्रक्रिया टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया चाँडै टुङ्गाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा अधिकारीसँगको छलफलमा उनले उक्त निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री दाहालले नेपाल प्रहरी (प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय) ऐन, २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजनको प्रक्रिया टुङ्गाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री दाहालले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुङ्गिँदा प्रदेशलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिएका हुन् ।

“सङ्घीयता कार्यान्वयन जुन गतिमा हुनुपर्ने हो, त्यसो हुनसकेको छैन । त्यसको प्रत्यक्ष प्रभाव प्रदेशलाई परिरहेको छ । यसले गर्दा प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएका छन्”, उनले भने, “यसलाई नै बहाना बनाएर सङ्घीयता विरोधीले सङ्घीयता र प्रदेश सरकारमाथि हमला गरिरहेका छन् । त्यसैले ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुङ्गाउनुस् ।”

छलफलमा उपप्रधानमन्त्री श्रेष्ठ, सङ्घीय मन्त्री, सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, गृह मन्त्रालयका अधिकारी उपस्थित थिए ।

Skip This
Skip This
Logo