समाजवादी सांसद सरीता गिरी विवादमा किन ?

समाजवादी सांसद सरीता गिरी विवादमा किन ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

समाजवादी पार्टीकी समानुपातिक सांसद सरीता गिरी पछिल्लो समय विवादमा तानिएकी छिन् । बुधबार संघीय संसदको सचिवालयमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि संशोधन प्रस्ताव दर्ता गराएसँगै उनी विवादमा तानिएकी हुन् ।

सांसद गिरीले दर्ता गराएको संशोधन प्रस्तावमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गरेर अद्यावधिक नक्सा अनुसारको नक्सा राख्ने बुंदा खारेज गर्नुपर्ने उल्लेख गरिएको छ । सरकारले गत जेठ २ मा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा भारतीय पक्षले लामो समयदेखि कब्जामा राखेको लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको भूभाग समावेश गरी नेपालको नक्सा सार्वजनिक गर्ने उल्लेख गरिएको थियो । सोही अनुसार गत जेठ ५ मा बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ नक्सा जारी गर्ने प्रस्ताव पारित गरेको थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार जेठ ७ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपालको नयाँ राजनीतिक एवम् प्रशासनिक नक्सा जारी गरेकी थिइन् ।

जसमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसहितको ३ सय ३५ वर्ग किलोमिटर भूभाग समावेश गरिएको थियो । नयाँ नक्सा जारी भएसँग सरकारले नेपालको संविधान २०७२ को भाग ९ को २ सँग सम्बन्धीत अनुसूची ३ मा रहेको निसान छाप परिमार्जन गर्न संविधान संशोधन गर्ने निर्णय गरेको थियो । सरकारको निर्णय अनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधानको दोस्रो संशोधन विधेयक जेठ ९ मा संसदीय सचिवालयमा दर्ता गराएकी थिइन् । मन्त्री तुम्बाहाङ्फेले दर्ता गराएको संविधान संशोधन विधेयक जेठ १८ मा प्रतिनिधि सभाको बैठकमा पेश गरिएको थियो । उक्त विधेयक जेठ २७ को प्रतिनिधि सभाको बैठकमा सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरिएको थियो । जसलाई सर्वसहमतिले पारित गर्ने निर्णय गरिएको थियो । संविधान संशोधन विधेयकमाथि केही संशोधन भए सांसदहरुलाई दर्ता गराउन ७२ घण्टाको समय दिइएको थियो ।

संविधान संशोधन विधेयक सम्पूर्ण राजनीतिक दलको सर्वसहमतिले अगाडि बढेकोले विधेयकमा कसैले पनि संशोधन प्रस्ताव दर्ता गराएका थिएनन् । तर तत्कालीन समाजवादी पार्टीकी सांसद सरीता गिरीले संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । जबकी सांसद गिरीको पार्टी तत्कालीन समाजवार्दीले पनि सरकारले ल्याएको संशोधन विधेयकका पक्षमा मतदान गर्ने निर्णय गरी सकेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालले सांसद गिरीलाई अबिलम्ब कारबाहीको प्रक्रिया थाल्न समाजवादी पार्टीसँग माग गरेको छ । त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था तरुण दलले पनि सांसद गिरीलाई तत्काल पदमुक्त गर्न माग गरेको छ ।

तरुण दलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी सांसद गिरीले मुलुकको स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान र राष्ट्रिय एकता विरुद्ध अभिव्यक्ति दिएको भन्दै तत्काल कारबाही थाल्नु पर्ने माग गरेको छ । तरुण दलले सांसद गिरीले आफनो पदीय मर्यादा विपरीत नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होइनन् भनेर अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभिन्न राजनीतिक दल, नागरिक समाज र स्वतन्त्र व्यक्तिबाट व्यापक विरोध भएपछि समाजवादी पार्टीलाई चर्को दबाब परेको छ । त्यसैले समाजवादी पार्टीले संशोधन प्रस्ताव तत्काल फिर्ता लिन सांसद गिरीलाई निर्देशन दिइसकेको छ । समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियाले संशोधन प्रस्ताव फिर्ता नलिए सांसद गिरीलाई कारबाहीको प्रक्रिया अगाडि बढाइने लिखित जानकारी समेत दिइसकेका छन् ।

केही दिन अगाडि सांसद गिरीले एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हुन भनेर आफूले पनि स्वीकार गर्न नसक्ने प्रतिक्रिया दिएकी थिइन् । त्यस्तै उनले संघीय संसदको बैठकमा बोल्दै छिमेकी मुलुक भारतलाई नसोधी एकतर्फी रुपमा नेपालले नयाँ नक्सा जारी गरेको भन्दै आपत्ति समेत जनाएकी थिइन् । उनले लगातार दिएका राष्ट्र विराेधी अभिव्यक्तिप्रति नागरिक स्तरबाट व्यापक आलोचना गरिएको छ ।

Skip This
Skip This
Logo