‘स्थायी कमिटीको बैठक राख्न शीर्षतहबाट बेवास्ता भयो, लामाे समय टिक्दैन’

‘स्थायी कमिटीको बैठक राख्न शीर्षतहबाट बेवास्ता भयो, लामाे समय टिक्दैन’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले नेतृत्वले बुझेर समय समयमा बैठक बोलाउनु पर्ने भएपनि आलटाल गर्दै आएको बताएकी छिन् । बिहिबार केन्द्रबिन्दुसँग कुरा गर्दै शाक्यले आफूहरुले निरन्तर दबाब दिँदा समेत  वेवास्था गरिएको बताएकी हुन् । अध्यादेश, बजेट, नयाँ नक्सा र कोरोना संंक्रमण जस्ता विषयमा छलफल गर्न माग राखे पनि नेतृत्वले वेवास्ता गरेको शाक्यको भनाइ छ । हस्ताक्षर अभियान चलाएर स्थायी कमिटीको बैठक बस्नुपर्ने माग गर्दा समेत विभिन्न बाहाना देखाएर पटक पटक स्थगित गरिएको उनले बताइन् ।

स्थायी कमिटी सदस्यको दबाबका कारण बस्न थालेको बैठक पनि अन्तिम समयमा आएर रोकिएको थियो । गत वैशाख २५ मा बस्ने भनिएको स्थायी कमिटीको बैठकको एजेण्डा तय नहुँदा स्थगित गरिएको थियो  भने वैशाख ३१ मा बस्ने भनिएको बैठक पनि कोरोनाको संक्रमण देखिएको भन्दै अन्तिम समयमा आएर रोकिएको थियो । त्यस यता जेठ १५ मा आगामी वर्षको बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यताका कारण सरकार बजेट तयारीमा जुटेको भन्दै बैठक राख्न आलटाल गरिएको थियो ।

छौठौँ अधिवेशन सुरु हुँदा स्थायी कमिटी सदस्य संसद बैठकमा सहभागि भएकाले आफूहरुको ध्यान विकेन्द्रीत भएको शाक्यको भनाइ छ । उनले भनिन्–‘हाम्रो माग स्थायी कमिटीको बैठक बस्नुपर्छ भन्ने नै हो । अहिले पनि व्यक्तिगत रुपमा दबाब दिएका छौँ । संसद र लकडाउन जस्ता विषयले हाम्रो ध्यान केही विकेन्द्रीत भएको हो । बैठक राख्नुपर्ने माग छोडेको होइन् ।’

आगामी वर्षको बजेट, नयाँ नक्सा, एमसीसी, पार्टीको आन्तरिक विषयमा व्यापक छलफल आवश्यक भएपनि सिमीत व्यक्तिले पार्टी चलाएको उनको आरोप छ । आफूहरुले निरन्तर पार्टी विधान अनुसार चल्नुपर्ने आवाज उठाउँदै आउँदा समेत नेतृत्वबाट वेवास्ता गरिएकाले पार्टी नभए जस्तो अनुभव हुन थालेको शाक्यको भनाइ छ । शाक्यले भनिन्–‘बजेट, एमसीसी, नक्सा जस्ता विषयमा पार्टीको नीति निर्देशन अनुसार सरकार चल्नुपर्ने हो । तर अहिले सबैलाई लत्याएर सरकार अगाडि बढेको छ । अहिले पार्टी नभए जस्तो महशुस हुन थालेको छ ।’

सरकारका कामलाई प्रभावकारी बनाउन पार्टीको निर्णय महत्वपूर्ण हुने भन्दै अहिले पार्टीको विचारलाई बाइपास गरेर नेतृत्व अगाडि बढेकाले नेकपाको सरकार असफल भएको शाक्यको तर्क छ । उनले भनिन्–‘कोरोना रोकथाम जस्ता काममा सरकार असफल भएको छ । सरकारमा केपी कमरेड हुनुहुन्छ । उहाँले नेतृत्व गरेको सरकार असफल हुनु भनेको नेकपा असफल हुनु हो । तर उहाँले बुझ्न सक्नु भएको छैन ।’

पछिल्लो समय पार्टीलाई कुल्चिएर नेतृत्व केही पार्टीका पात्रलाई साथमा लिएर अगाडि बढेको शाक्यको आरोप छ । पार्टीमा व्यापक छलफल गर्न स्थायी कमिटीका २० जनाले हस्ताक्षर गर्दै माग गर्दा समेत अध्यक्ष ओलीका कारण बैठक रोकिएको उनको आरोप छ । पार्टी र पार्टीको सिद्धान्त भन्दामाथि व्याक्ति हाबी हुँदा लोकतन्त्र लामो समयसम्म नटिक्ने उनको दाबी छ । केपी शर्मा ओली प्रधानमन्त्रीका साथै पार्टीको अध्यक्ष समेत भएकाले अध्यक्षको जिम्मेवारी बिर्सिन नहुने उनले बताइन् ।

पार्टीको निर्णय र विचारलाई हल्का रुपमा लिएर सरकार अगाडि बढे धेरै दिन नटिक्ने उनको चेतावनी छ । नेकपा जस्तो लोकतान्त्रिक पार्टीको नेतृत्व गर्ने व्यक्ति विशाल हृदयको हुनुपर्ने भएपनि संकिर्ण सोच राख्दा अहिलेको अवस्था आएको शाक्यको अ‌ाराेप छ ।

स्थायी कमिटीको बैठकमा भारतीय पक्षले लामो समयदेखि कब्जामा राखेको नेपाली भूमि समावेश गरी नक्सा गरी गर्न दबाब दिएकाले नेपालको राजनीतिक नक्सा जारी भएको भन्दै सरकारको व्यापक प्रशंसा भएपनि पार्टीभित्रको असन्तोष नेतृत्वले बुझ्न नसकेको उनले बताइन् । मत परिणामका हिसाबले नेकपाको सरकार शक्तिशाली भएपनि पार्टीभित्र निकै कमजोर मानशिकता रहेको शाक्यको आरोप छ ।

त्यस्तै नेकपाका स्थायी कमिटी सदस्य युवराज ज्ञवाली नेतृत्वले अहिले स्थायी कमिटीको बैठक टारे पनि लामो सयमसम्म टार्न नसक्ने बताउँछन् । लकडाउनको समयमा पनि कोरोना उच्चस्तरीय समिति, सीसीएमसी, मन्त्रिपरिषद् र संसदसमेत सञ्चालन भएको अवस्थामा स्थायी कमिटीको बैठक रोक्नु अव्यवहारिक भएको उनको भनाइ छ । उनले पार्टीभित्र निरन्तर दबाब दिए पनि नेतृत्वकर्ताको उदासीनताका कारण बैठक बस्न नसकेको बताए ।

समस्या समाधान गर्न बैठक बस्नुपर्ने भएपनि अहिले समस्या देखाएर नेतृत्वले बैठक टारेको उनको भनाइ छ । उनले भने–‘देशमा देखापरेको समस्या समाधान गर्न बैठक बस्नुपर्ने हो । तर अहिले समस्या देखाएर बैठक टार्ने काम भएको छ । जुन नेतृत्वले उल्टो बाटो हिँडेको हो । हामीले निरन्तर दबाब दिए पनि नेतृत्वले वेवास्ता गर्यो । नेतृत्वले बेवास्ता गर्यो भनेर आन्दोलन गर्न मिल्दैन । व्यक्तिगत रुपमा निरन्तर बैठकका लागि दबाब दिएकै छौँ ।’

त्यस्तैगरी स्थायी कमिटी सदस्य रघुजी पन्तले स्थायी कमिटीको बैठक बोलाउन निरन्तर दबाब दिएको बताएका छन् । लकडाउनका कारण आफूहरुले दिएको दबाब त्यति प्रभावकारी हुन नसकेको उनको भनाइ छ । उनले भने–‘मैले हिजोमात्र पनि बैठक बस्नुपर्ने माग राखेको थिए । अहिले लकडाउनको समय भएकाले होला नेतृत्वले त्यति चासो देखाएको छैन ।’

Logo