‘नेपाली राजनीतिमा यतिबेला भूकम्प आएको छ’ : गृहमन्त्री थापा (भिडियोसहित)

‘नेपाली राजनीतिमा यतिबेला भूकम्प आएको छ’ : गृहमन्त्री थापा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गृहमन्त्री रामबहादुर थापाले नेपालमा यतिबेला राजनीतिक भूकम्प आएको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित २३ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा उनले यस्तो बताएका हुन् । उनले आगामी दिनमा आउन सक्ने विपत्तिहरुको सामना गर्न पूर्व तयारी गर्नुपर्ने बताए।

२३ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको राष्ट्रिय भूकम्प स्मृति सभामा बोल्दै गृहमन्त्री थापाले आगामी दिनमा प्राकृतिक विपत्ति आकस्मिक रुपमा आउन सक्ने भएकाले ती विपत्तिको सामना गर्न पूर्व तयारी आवश्यक रहेको बताएका हुन् ।

उनले सरकारले आवश्यक संरचना, नीति, ऐन, योजना बनाउँदै आएको पनि बताए । २०७२ सालको भूकम्पको घाउ निको भइनसकेको भन्दै उनले पूनर्निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिए । यस वर्षमा बाढी पहिरोका कारण क्षति भएका घरहरुको पुनर्निर्माणको काम पनि अगाडि बढाउनु पर्ने उनको भनाई छ ।

काठमाडौँ महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाले सुरक्षा निकाय बस्ने जीर्ण भवनहरु निर्माण गर्न चाहेको बताए । गृह मन्त्रालयसँग कुरा भइरहेको जानकारी दिंदै उनले अनुमति दिए सुरक्षा निकाय बस्ने जीर्ण भवन पुरानै स्वरुपमा काठमाडौँ महानगरपालिकाले बनाउने बताए । विपतको सामना गर्न काठमाडौँका नाकाहरुमा दमकलको व्यवस्था गर्न खरिद प्रक्रिया अगाडि बढाएको पनि मेयर शाक्यले बताए ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्न आवश्यक तालिम तथा क्षमता अभिवृद्धिका काम शुरु गरेको बताए । जोखिमको जानकारी दिनको निम्ति पोर्टल निर्माण गरेको, भूकम्पको पूर्वतयारीका लागि स्वयंसेवक ब्युरो बनाउने लगायतका काम प्राधिकरणले गर्न लागेको जानकारी दिए । काठमाडौँ महानगरपालिकाले हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प स्मृतिमा सभा गर्दै आएको छ ।

Logo