आइतबारको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा संविधान संशोधन विधेयक समावेश

आइतबारको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा संविधान संशोधन विधेयक समावेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आइतबारको प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयक पेस हुने भएको छ । आइतबार बिहान ११ बजे बस्ने बैठकका लागि तयार पारिएको सम्भावित कार्यसूचीमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पेस गर्ने विषय समावेश गरिएको हो ।

यसअघि गत बुधबारको बैठकमा संशोधन विधेयक पेस गर्ने तय भएपनि अन्तिम समयमा आएर रोकिएको थियो । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरी नेपालको राजनीतिक एवं प्रशासनिक नक्सा जारी गरेको थियो । नयाँ नक्सा अनुसार नेपालको संविधान २०७२ को अनुसूची ३ मा रहेको निसान छाप परिमार्जन गर्न संविधान संशोधन गर्न लागिएको हो ।

गत जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले नेपालको राजनीतिक एवं प्रशासनिक नक्सा जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सोही प्रस्ताव अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गत जेठ ७ गते नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी थिइन् । जसमा संघीयताको मर्म अनुसारका ७ प्रदेश, ७७ जिल्ला र ७ सय ५३ स्थानीय तहका साथै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको ३ सय ३५ वर्ग किलोमिटर भूमि समावेश गरिएको थियो ।

नयाँ नक्सा अनुसार संविधानमा रहेको निसान छाप अध्यावधिक गर्न गत जेठ ९ गते कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संसदीय सचिवालयमा संविधान संशोधन वियेयक दर्ता गराएकी थिइन् ।

 

Logo