काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सङ्घीय संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जेठ १७ गते दिउसो १ बजे बस्ने बैठकमा सो प्रस्ताव सम्बन्धमा छलफल हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।
जेठ ११ गतेको काँग्रेस केन्द्रीय पदाधिकारी बैठकले सरकारद्वारा संसदमा प्रस्तुत सो प्रस्तावमा आवश्यक निर्णय गर्न पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार केन्द्रीय समिति बैठक बोलाइएको हो ।
सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्सा अनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउनका लागि जेठ ९ गते सङ्घीय संसदमा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७’ विधेयक दर्ता गराएको थियो ।































प्रतिक्रिया