काठमाडौं । सरकारले कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् । श्रम रोजगार पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् । कोभिड–१९ का कारण रोजगारी गुमाएका र भिषा सकिएर अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारले तयारी थालेको उनको भनाइ छ ।
मन्त्री ज्ञवालीले स्वदेश फर्काउने विषयमा अध्ययन गर्न परराष्ट्र मन्त्रालयको नेतृत्वमा सरोकारवाला निकायसँगको सहभागीतामा टोली गठन गरिएको जानकारी दिए । विदेशमा समस्यामा परेका नेपालीको तथ्याङ्क संकलनको काम शुरु भइसकेको, तत्कालै ल्याउनुपर्नेको हकमा प्राथमिकताको आधार छुट्याइएको र आवश्यक प्रबन्ध मिलाएर स्वदेश फिर्ता गरिने मन्त्री ज्ञवालीले बताए । महामारीको बेला आपतमा परेका नागरिकलाई उद्दार गरेर स्वदेश ल्याउनु निकै चुनैतीपूर्ण रहेको भन्दै मन्त्री ज्ञवालीले भावनामा बकेर सरकारले केही गरेन भनेर दोषारोपण नगर्न पनि आग्रह गरेका छन् । अहिलेको विषम परिस्थितिमा आपतमा परेका नेपालीको साथमा सरकार रहेको भन्दै उनले जोखिम नहुने ढंगबाट सरकारले योजना बनाएर उद्दारको तयारी थाल्ने बताए ।
त्यस्तै उनले सम्बन्धित देशका सरकारसँग प्रधानमन्त्रीको तहमा कुराकानी भइरहेको भन्दै नेपालीलाई थप सहजीकरणका लागि आग्रह गरिएको जानकारी दिए ।
त्यस्तैगरी कार्यक्रममा श्रम आप्रवास विज्ञ एवं इक्विडेम रिसर्च सेन्टरका दक्षिण एशिया निर्देशक रामेश्वर नेपालले अहिलेको अवस्थामा सरकारको भूमिका थप प्रभावकारी हुनुपर्ने बताए ।





























प्रतिक्रिया