- सरोज बस्याल
काठमाडौं ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको मिडियाप्रति दोषी चश्मा देखिन्छ । उनको प्रत्येक भाषण वा सम्बोधनलाई मसिनो गरी नियाल्ने हो भने कही न कतै मिडियाप्रति रोष राखेकै हुन्छन् ।
उनले गत असार ३ मा सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै पत्रकार र सञ्चारमाध्यमप्रति रोष पोखेका थिए । उनले नेपाली पत्रकार तथा सञ्चारमाध्यमले भाषालाई बिगारेको र सबैलाई आदर गर्न बिर्सिसकेको आरोप लगाएका थिए । प्रधानमन्त्री ओलीले भनेका थिए–‘बाउलाई तिमी, हजुरबालाई पनि तिमी, आमालाई पनि तिमी । भाषाको आफ्नो मर्म छ । सबैलाई समान भन्ने पनि होला । हाम्रा टिभीले तपाईं भन्न जानेकै छैनन् ।’
त्यस्तै उनले गत पुष २९ गते नेपाल चेम्बर अफ कमर्सका व्यवसायीसँगको भेटघाट कार्यक्रममा सरकारले गरेका राम्रा कामहरूको समाचार नै नबन्ने गरेको गुनासो पोखेका थिए । आफू नेतृत्वको सरकारले धेरै राम्रा काम गर्दै आएपनि त्यसको समाचार बनाउने मन–मुटु भएका सम्पादक नभएको उनको आरोप थियो ।
सरकारले सडकलाई मानवमुक्त बनाएको प्रसंग उल्लेख गर्दै ओलीले सडकमा कुनै पनि मानिस बेबारिसे नभेटिने दाबी गरेका थिए । उनले भनेका थिए– ‘पहिले पहिले बालबालिकाहरू कुकुरसँग लडाइ गरेर खानेकुरा टिपिरहेको देख्ने गरिन्थ्यो । अहिले यो सरकार आएपछि काठमाडौंका सडकमा बालबालिका छैनन् । उनीहरूलाई राख्ने, बस्ने, पढाउने प्रबन्ध मिलाइएको छ । मान्छेहरू सडकमा लडिरहेका हुन्थे, झिंगा भन्किराख्या हुन्थ्यो, कुकुरसँग सुतिराख्या हुन्थ्यो, कुकुरले घाउ चाटिराख्या हुन्थ्यो तर आज त्यस्ता व्यक्तिहरू सडकमा छैनन् । नेपाल भिखारीहरुको देश होइन भन्दै आएका छौँ । कोही बेघर हुनुपर्दैन । ठग बेघरलाई घर पठाइ दिने र साँच्चिकैको बेघरको प्रबन्ध सरकारले गर्दै आएको छ । हामीले काम गरेका छौँ । त्यस्ता कामहरूको प्रशंसामा लेख्ने, प्रशारण गर्ने टेलिभिजन छैनन् । त्यस्ता काम छाप्ने पत्रपत्रिका छैनन् । त्यस्ता काम प्रशंसा गर्ने मुटु भएका, मन भएका सम्पादक छैनन् । यदि छ्यास्सछुस्स कसैले लेखिहाल्यो भने पनि गाली खान्छ । राम्रा कुरा पनि गर्न थालिस बिग्रिन्छस् भन्छन् । सकारात्मक कुरा पनि गर्न थालिस् भन्ने आउँछन् ।’
विश्वका लोकतान्त्रिक मुलुकमा पत्रकारलाई उच्च सम्मान दिएको पाइन्छ । हाम्रै छिमेकी मुलुक भारतमा पनि पत्रकारलाई सम्मानका साथ नै हेरिन्छ । तर नेपालमा पत्रकारलाई हेयका दृष्टिकोणले हेर्दै आएको पाइन्छ । खासगरी सत्ताबाट जहिले पनि पत्रकार र सञ्चारमाध्यमको उपहास गरिन्छ ।
केही समय पहिले भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले देशका विभिन्न भागबाट आएको समाचारमा धेरै पत्रकार कोरोना भाइरसबाट संक्रमित भएकोमा दुःख व्यक्त गरेका थिए । मुख्यमन्त्री केजरीवालले विपद्को बेला पत्रकार फ्रन्ट लाइनमा रहेर ठूलो हिम्मतका साथ रिपोर्टिङ गरेर देश र जनताको सेवा गरेको भन्दै पत्रकारप्रति उच्च सम्मान गर्दै धन्यवाद दिएका थिए । उनले सबै पत्रकारलाई कोरोना भाइरसको संक्रमण परीक्षण निःशुल्क गर्ने प्रतिबद्धता समेत गरेका थिए ।
तर हाम्रा प्रधानमन्त्री ओलीले केही समय पहिले नेपालका सरकारी समाचार संस्थाहरुलाई अन्तवार्ता दिँदै सञ्चारमाध्यमप्रति असन्तुष्टि पोखेका थिए । देशैभर एकै साथ लकडाउनको घोषणा गरिएकाले रोजगारी गुमाएर खान बस्न समस्या हुँदा सयौँ किलोमिटरको यात्रा तय गर्दै हिडेर धादिङ पुगेका नागरिक सरकारले केही गरेन भन्ने देखाउन नियोजित तरिकाले पुर्याइएको उनको आरोप थियो । लकडाउनका कारण रोजगारी गुमाएका जनतालाई सरकारले राहत वितरण गरेको, राहत उपलब्ध गराउँदा गराउँदै हिडेर जाने अवस्था नभएको तर कोही हिडेर गएर सरकारलाई असफल पार्न नियोजित खेल खेलेको उनको भनाइ थियो ।
उनले भनेका थिए–‘ मानिस गन्तव्यमा निस्कन लागेको पत्रकारलाई कसरी थाहा हुन्छ ? त्यहाँको प्रहरीलाई थाहा छैन, त्यहाँको सिडियोलाई थाहा छैन । तर हुर्रर मानिस निस्केर गन्तव्य तिर लाग्दा पत्रकारलाई थाहा हुन्छ । र, काठमाडौंबाट क्यामेरा बोकेर पत्रकार पुगेको हुन्छ, कसरी रहस्यपूर्ण छैन ? त्यहाँको सिडियो प्रहरीलाई थाहा छैन किनभने मान्छे घुरुप्प जम्मा भए र निस्किए । अघिल्ला दिन राती, बेलुका खिचिएको फोटो भिडियो अर्को दिन बिहान ५ः२२ मा अपलोड गरियो के यो नियोजित छैन ? ।’
त्यस्तैगरी प्रधानमन्त्री ओलीले आज विश्व मजदूर दिवसको अवसरमा गरेको सम्बोधनमा पनि मिडियाप्रतिको दोषी चश्माले निरन्तरता पाएको छ । उनले विश्व मजदूर दिवसको शुभ कामना दिँदै आजको अप्ठ्यारो घडीमा सबै जना ट्रेड युनियनझैं मिलेर अघि बढ्नु पर्ने बताएका छन् । १३१ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ट्रेड युनियनले आपसी एकता र भर्याङको खुट्किलो बनाउन सिकाएको उल्लेख गर्दै त्यसैलाई अनुशरण गरी अघि बढ्नु पर्ने बताएका छन् ।
उनको सम्बोधनमा प्रयोग गरिएको श्रमिकमा राज्यको चौँथो अंगका रुपमा स्थापित सञ्चार जगतमा र पत्रकारलाई छोएको छैन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पनि सञ्चार माध्यम र पत्रकार ‘फ्रन्ट लाइन’ मा रहेर सत्यतत्थ सूचना सम्प्रेषण गरिरहेका छन् । देशमा आइपर्ने महामारी, राजनीतिक संकट, प्राकृतिक विपद् र आर्थिक संकटको बेला सञ्चारमाध्यम र पत्रकार अग्रमोर्चामा खटेका हुन्छन् । नेपालमा पनि कोरोना भाइरसको रोकथाममा पहिलो घेरामा स्वास्थ्यकर्मी, दोस्रोमा सुरक्षाकर्मी र तेस्रो घेरामा सञ्चारकर्मी अहोरात्र खटिएका छन् ।
प्रधानमन्त्रीले मजदूर दिवसको अवसरमा गरेको सम्बोधनमा उनले भनेका छन्– ‘म ठान्दछु, श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, तर सुखको सपना देख्ने वर्ग हो । परिवर्तनको संबाहक हो । र, सबै आत्तिएको बेला ढाडस दिन सक्ने, अनि आफैँ अघि सरेर समस्याको सामना गर्न सक्ने वर्ग श्रमजीवी वर्ग हो । कोरोना भाइरसको महामारीका विरुद्ध अग्रपंक्तिमा रहेर जुधिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाई लगायतका सेवामा क्रियाशील श्रमजीवीहरु यसका उदाहरण हुन् ।’
‘आज नेपालका केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ। एकातिर सम्पूर्ण नेपाली जनता र सिङ्गै विश्व कोरोना महामारीविरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयास गरिनु दुःखद् कुरा हो’ उनले सम्बोधनमा भनेका छन् ।































प्रतिक्रिया